पोखरा, २० पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले मुद्दा दर्ता हुनुपर्ने हदम्याद नाघेर अदालतमा मुद्दा दर्ता भएको जिकिर मात्र गरेनन्, अवैध तरिकाले सहकारीको रकम गएको भनिएको गोर्खा मिडिया प्रालिलाई प्रतिवादी बनाउनु पर्नेमा सञ्चालकहरुलाई प्रतिवादी बनाएर सरकारी पक्षले त्रुटि गरेको दाबी गरेका छन् ।
जिल्ला न्यायाधीस नीतिज राईको इजलाशमा प्रतिवादी रहेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविराज जोशीका तर्फबाट शुक्रबार बहस गर्नुभएका वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले त्यस्तो दाबी गर्नुभएको हो ।
प्रतिवादीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले रकम गएको गोर्खा मिडिया नेटवर्क प्रालिलाई सहकारी ठगीमा किन प्रतिवादी नबनाइएको भन्दै प्रश्न उठाए । यसले सरकारी वकिल कार्यालयको अभियोजन नै कमजोर रहेको पुष्टि हुने उनीहरूको दाबी छ ।
यदि सहकारीबाट अवैध तरिकाले रकम गएको भनिएको गोर्खा मिडिया नेटवर्क प्रालिविरुद्ध मुद्दा दर्ता भएको भए स.चालकहरु स्वतः मुद्दामा तानिने अवस्था रहने उनीहरुको भनाइ थियो । यसर्थ गोर्खा मिडिया नेटवर्क प्रालिविरुद्ध मुद्दा दर्ता नगरी सञ्चालकहरुविरुद्ध मात्र दर्ता हुनु राज्यको बदनियत देखिएको उनीहरुको जिकिर थियो ।
कुनै पनि संस्थामा आएको रकमबारे जानकारी राख्ने र सरकारसँग सम्बन्धित निकायहरुलाई जानकारी गराउने कार्य लेखा परीक्षकहरुको रहेको दाबी गर्दै प्रतिवादी पूर्वडिआइजी जोशीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लेखा परीक्षण गर्ने लेखा परीक्षकहरुविरुद्ध मुद्दा दर्ता नगरेर गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरुविरुद्ध मात्र मुद्दादर्ता गरिनुमा पनि बदनियत झल्किएको उनीहरुको भनाइ रहेको थियो ।
गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष जिबी राईले ल्याएको भनिएको अवैध रकमबारे सोधीखोजी गर्ने कानुनी हैसियत अन्य सञ्चालक सदस्यहरु रवि लामिछाने र छविराज जोशीलाई नभएको उनीहरुको तर्क थियो । नेपालको कानुनमा आफ्ना सहकर्मी सञ्चालकहरुको सम्पत्तिको स्रोत खोज्ने हैसियत कहीँ कतै नरहेको उनीहरुको भनाइ थियो ।
गोर्खा मिडिया नेटवर्कमा सञ्चालक रहँदा एक रुपैयाँ पनि नलगेको तथ्य स्थापित भएको अवस्थामा पूर्वसञ्चालक छविराज जोशीले त्यहीँ कम्पनीमार्फत् सम्पत्ति शुद्धीकरण गरेको भन्ने सरकारी दाबी पुग्न नसक्ने जोशी पक्षधर कानुन व्यवसायीहरुको रहेको थियो ।
सहकारी ठगी भएको जानकारी पाएको ९० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नु पर्ने सहकारी ऐन २०७४ को धारा १३२ मा उल्लेख भएको स्मरण गराउँदै उनीहरुले सूर्यदर्शन सहकारी पीडितहरुले प्रहरीमा रवि लामिछानेलगायत १८ जनाविरुद्ध २०८० साल माघ २२ गते उजुरी दर्ता गरेको अवस्थामा २०८१ साल वैशाख २२ भित्र अदालतमा मुद्दा दर्ता हुनुपर्नेमा त्यसो नभएको अझ त्यसलाई छाडेर पनि संसदीय छानबिन विशेष समितिले २०८१ भदौ ३१ गते बुझाएको प्रतिवेदनलाई सरकारले प्रारम्भिक जानकारीमा लिएको मान्ने हो भने पनि त्यसको ९० दिनभित्र २०८११ साल मंसिर मसान्तसम्म अदालतमा मुद्दा दर्ता हुनुपर्ने दाबी गरेका थिए ।
तर, त्यो हदम्याद नाघेर पनि २०८१ साल पुष ७ गते जिल्ला अदालत कास्कीमा दर्ता भएको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नै अदालतले सुरुमा खारेज गरिदिनु पर्ने जिकिर प्रतिवादी छबिलाल जोशीका कानुन व्यवसायीहरुले गरेका थिए ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुमार रम्तेल, शिवराज गुरुङ ’महेन्द्र भोटे ’ लगायतका अभियुक्तहरुलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकै आधारमा सहकारीको सेयर सदस्य, सञ्चालक वा पदाधिकारी नभएका व्यक्तिलाई बिना आधार पुर्पक्षमा रहने गरी कारागार पठाउन नहुने उनीहरुको जिकिर थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले गत ७ पुसमा ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतमा पूरक अभियोगपत्र दर्ता गरेको थियो । त्यसमध्ये ३१ प्रतिवादी व्यक्ति हुन् भने आठवटा कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ । पाँचजनालाई सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएको छ ।
प्रतिवादी बनाइएका जिबी राईका आठ कम्पनीमा गोर्खा मिडियाको पनि नाम रहेको छ, तर उनलाई सम्पत्ति शुद्धीकरणतर्फको सम्बद्ध कसुरमा मात्र प्रतिवादी बनाई बिगो तोकिएको छ । सहकारी ठगीको विषयमा भने ‘प्रतिवादी महलमा उल्लेखित कम्पनीहरूको हकमा कानुनबमोजिम बुझी पाउन सादर अनुरोध छ’ मात्र लेखिएको छ । कुन कानुनबमोजिम के बुझ्ने हो, अभियोगपत्रले खुलाउन सकेको छैन ।
सम्पत्ति शुद्धीकरणतर्फ भने गोर्खा मिडिया नेटवर्कलाई कानुनी व्यक्ति मानी ६७ करोड ८७ लाख ७० हजार २२० रुपैयाँ बिगो कायम गरिएको छ । तर, अधिवक्ता खतिवडाको तर्क थियो, ‘मूल कसुर (सहकारी ठगी)मा नै प्रतिवादी कायम नगरिएकाले सम्बद्ध कसुरका रूपमा मात्र रहेको सम्पत्ति शुद्धीकरणमा कसुर स्थापित हुन सक्दैन ।’
सम्पत्ति शुद्धीकरणतर्फ रवि लामिछानेकी पत्नी निकिता पौडेल, छविलाल जोशी र रामबहादुर पछाईको परिवारलाई मात्र सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाई मुख्य अभियुक्त जिबी राईको परिवारलाई उन्मुक्ति दिइएको छ । –नेपाल न्यूज बैंक