काठमाडौँ, १८ पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले एमाले लक्षित गरेको टीका टिप्पणीहरु अत्यन्त तल्लो स्तरको भएको बताउनुभएको छ ।
बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले नकरात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भीम रावलले गर्नुभएको पत्रकार सम्मेलन नेकपा (एमाले) लक्षित उहाँको टीकाटिप्पणीहरुका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनु पर्ने विषय पनि होइन । किनभने, नकरात्मकता, विरोध, आवेग र कुन्ठाले देश बन्ने भए धेरै अगाडि बनि सक्ने थियो । आरोपहरु अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुन्ठा मात्र व्यक्त भएको छ ।’
त्यस्तै, बैठकमा एमाले–कांग्रेस गठबन्धन सरकारले संचालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उहाँले बताउनुभयो । यस्तै ,नेपाली राजनीतिमाथि भइरहेको बाहिरी प्रभावका विषयमा छलफल भएको सुनाउनुभयो ।