काठमाडौँ, १८ पुस । नेकपा (माओवादी केन्द्र)ले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिए पनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ ।
बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छे चाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छे चाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ । राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छे चाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छे चाहिँ छानी–छानी कारबाही गर्ने । आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिधैँ छ तर कुनै कारबाही नै छैन । त्यस्तै, लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’
त्यस्तै, उहाँले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताउनुभयो । यस्तै, उहाँले सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्श पनि सरकारमा नरहेको आरोप लगाउनुभयो ।