गौर, १८ पुस । रौतहट प्रहरीले एकैदिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरुमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना, अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेइजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुरसम्बन्धी मुद्दाका आरोपी रहेको उहाँको भनाइ छ । पक्राउ परेका ३२ जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताउनुभयो ।
उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।