- सुस्मिता बानियाँ
काठमाडौँ, १७ पुस । नेपालमा एक दशकयता हरेक वर्ष जनवरी १ तारिख अर्थात् अंग्रेजी नयाँ वर्षका दिनलाई ‘टोपी दिवस’का रूपमा मनाउन थालिएको छ । अंग्रेजी नयाँवर्षका दिन नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर दिवस मनाउँदै आएका छन् ।
तर, पछिल्ला वर्षमा बजारमा परम्परागत ढाका र भादगाउँले टोपीको माग भने घट्न थालेको छ । मानिसहरुले चाडपर्व, बिबाह, वर्तबन्धमा मात्रै परम्परागत ढाका र भादगाउँले टोपी खोज्ने गरेको व्यापारीहरुको अनुभव छ ।
असनमा परम्परागत ढाका र भादगाउँले टोपी, दौरा सुरुवालको व्यापार गर्दै आउनुभएका रोहित श्रेष्ठ टोपी दिवसलाई नै भनेर मानिसहरु टोपी किन्न नआउने गरेको बताउनुहुन्छ ।
‘म यो पसलको पाँचौँ पुस्ता हुँ । सय वर्ष नै भइसक्योे यहाँ टोपी बेच्न लागेको । ढाकाटोपीको माग पहिलाभन्दा त धेरै नै घटेको हो । तर, दौरा सुरुवालको माग भने बिहे, भोजहरुको लागि माग हुने गरेको छ । अलिक उमेर ढल्केकाहरुले कहिले काहीँ खोज्नुहुन्छ । युवाहरुले त सोध्नु नी हुँदैन,’ उहाँले भन्नुभयो, ‘टोपी दिवसकै लागि भनेर आउनेहरु चाहिँ एकदमै कम हुनुहुन्छ ।’
रोल्पाका मनोजमणी आचार्य नेपालीहरुको पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्ने बताउनुहुन्छ । ‘नेपालसहित, भारत, भुटान, म्यानमारलगायत संसारभर भएका नेपाली भाषीहरुले पहिचानका लागि पनि परम्परागत ढाका र भादगाउँले टोपी लगाउनुपर्छ र लगाउने गरेको पाइन्छ । पछिल्ला वर्षमा मनाउँदै आइएको टोपी दिवसको इतिहास टोपीसँग छ । यसको मौलिकता छ । युवा पुस्ताको शिरमा टोपी देख्दा खुसी लाग्छ । तर, यसलाई संस्थागत गराउन आवश्यक पनि छ’, उहाँले भन्नुभयो ।
वि.सं.२०७० सालदेखि नेपालीहरुमा मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । न्युरोड, असन क्षेत्रमा एक दशक यता परम्परागत टोपी तथा भादगाउँले टोपी बेच्दै आएका गोरख बुढा टोपी दिवस मनाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ढाका टोपी दिवस मनाउनुपर्छ । यो हाम्रो पहिचान पनि हो । दौरा, सुरुवाल, टोपी त नेपालीहरुको पोसाक नै हो नि ।’
असनमा नै टोपी तथा दौरा सुरुवालको व्यापार गर्दै आउनुभएकी सबना बानु विदेशमा रहेका नेपालीहरु र नेपाल घुम्न आएका विदेशीहरुले टोपी खोज्ने गरेको बताउनुहुन्छ । ‘नेपालीहरुले मात्र नभइ फरेनरहरुले पनि टोपी खोज्नुहुन्छ । पहिला नेपालीहरुले मात्रै टोपी लगाउने भन्ने थियो तर अहिले फरेनरहरुले धेरै नै खोज्नुहुन्छ,’उहाँ भन्नुहुन्छ,‘पहिला एक लाख जति व्यापार हुने गरेकोमा अहिले चारपाँच लाखसम्मको व्यापार हुन्छ । टर, ढाकाटोपी मात्रैको भने यस्तो व्यापार छैन ।’
बाउबाजेको पालादेखि लगाउँदै आएको टोपी अबका छोरा नातीलाई सिकाउनका लागि भए पनि दिवसलाई जोड दिनुपर्ने रविन्द थापा बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘नेपाली पहिचानको लागि टोपी लगाइहन्छु । नेपाली पहिचान झल्काउँछ । बाउबाजेको पालादेखिको चलनलाई चलाइरहेको पनि हो । यो त हाम्रो छोरा नातीलाई शुद्ध सिकाउनपर्छ ।’
नेपाल न्यूज बैंक