बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाही, १७ पुस । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वाबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा सर्लाहीको छटौना सशस्त्र बेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक रविन्द्रबहादुर सिंहका अनुसार काठमाडौँका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । फिल्ड गस्तीबाट क्याम्पतर्फ फर्किँदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडि नै बसले ठक्कर दिएको उहाँले बताउनुभयो ।
ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा म्बर १ का २२ वर्षीय विकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षीय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।