काठमाडौँ, १७ पुस । करिब १२ वर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ वर्ष आउनैलाग्दा सञ्चार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको सम्मानः नेपाली टोपी नेपालको पहिचान’ नारा दिएर सामाजिक सञ्जालमा ‘नेपाली टोपी दिवस’ मनाउन आह्वान गर्दै प्रचारमा जुटे ।
टोपी दिवसकै लागि भनेर ‘जागरुक युवा अभियान, नेपाल’ नामको संस्था नै खडा गरे र माइतीघर मण्डलामा सबैलाई निम्ता गरे । नभन्दै अंग्रेजी नयाँवर्षको बिहान सयौँ युवा ढाका र भादगाउँले टोपी ढल्काएर राष्ट्रिय झन्डाको साथमा सडकमा देखिए । त्यसपछि सुरु भयो टोपी दिवसको सार्थक अभियान । आज उक्त दिवस १२ संस्करणमा पुगिसकेको छ ।
नेपाली टोपी दिवसका संस्थापकमध्येका ज्ञानमणि नेपाल ‘कालो टोपी’ सरकारले टोपी दिवस प्राथमिकतामा नराखेकै कारण टोपी दिवसको जन्म भएको बताउनुहुन्छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले सरकारले नेपालको पहिचान मानिएको टोपी र दौरा सुरवाललाई संविधानबाट हटाएर अपमान गरेकोमा दुःख व्यक्त गर्नुभयो । औपचारिक कार्यक्रममा दौरा सुवाल, ढाका टोपी सबैका लागि पहिचान बने पनि वैधानिकता दिलाउन सरकारलाई गाह्रो भएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘सरकारले टोपी दिवस प्राथमिकतामा नराखेकै कारण टोपी दिवसको जन्म भएको हो । सरकारले हाम्रो पहिचानहरुलाई स–सम्मान राख्थ्यो भने त्यतिबेला संविधानबाट हट्दैन थियो नि । सरकारले प्राथमिकतामा नराखे पनि नेताहरुले त्यहीँ ढाका टोपी, कालोटापी लगाउनुभएको छ । दौरा सुरवाल लगाउनुभएको छ । औपचारिक कार्यक्रममा त्यहीँ पोशाक लगाएर हिँड्नुहुन्छ भने त्यसलाई वैधानिकता दिन किन गाह्रो भएको ? प्रधानमन्त्रीले शपथ लिन जानुपर्यो भने त्यहीँ दौरा सुरवाल र ढाका टोपी लगाउनुहुन्छ ।’
त्यस्तै, उहाँले २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले धर्म निरपेक्षताको नाममा राष्ट्रिय पहिचानहरुलाई गुमाउने काम गरेपछि त्यसको विरोधमा आफूहरु सडकमा उत्रिएर पहिचान स्थापित गराउन लागि परेको सुनाउनुभयो ।
‘२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भटराई नेतृत्वको सरकारले हाम्रा राष्ट्रिय पोशाकहरुलाई हटाइदियो । दौरा सुरवाल, गुन्यु चोली, ढाका टोपीलगायतका राष्ट्रिय पोशाक जुन थिए त्यो हटाउने काम भयो । संविधानबाट नै हटाइयो । धर्म निरपेक्षताको नाममा राष्ट्रिय पहिचानहरुलाई गुमाउने काम भयो । त्यसको विरोध स्वरुप हामीले अभियान सुरु गरेका हौँ । हाम्रो पहिचान केही त चाहियो नी अर्थात् विश्वमा चिनाउने एउटा माध्यम चाहिन्छ भन्ने हो । धेरै वर्षदेखि ढाका टोपी, कालो टोपी, दौरा–सुरवाल, गुन्यु चोली हाम्रो पहिचानका रुपमा स्थापित छन् । सबैका आ–आ–आफ्ना पोशाक छन्, तिनको मौलिक पहिचान छ, त्यसलाई जोगाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उहाँले भन्नुभयो ।
०६८ सालमा सरकारले राष्ट्रिय पोशाकको व्यवस्था हटाएपछि ०६९ सालदेखि सुरु भएको अभियान आज करिब १२ वर्ष पूरा भएको उहाँ बताउनुहुन्छ । आफूहरुले अभियान सुरु गर्दैगर्दा प्रतिक्रिया भने सकारात्मक पाइरहेको सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘०६८ सालमा सरकारले हटाएपछि ०६९ सालदेखि सुरु भएको आज करिब १२ वर्ष भएको छ । त्यसपछि व्यापकता पायो । प्रचार भयो । सबैलाई यो त ठिक छ भन्नुभयो । सामजिक सञ्जालबाटै सुरु भएको अभियान हो । परम्परा चाहिँ होइन । पहिला हाम्रो राष्ट्रिय पोशाकहरु सुरक्षित हुँदा यस्तो दिवस मनाउनुपरेको थिएन । सबैलाई राष्ट्रिय पहिचान चाहिएको थियो । त्यो सँगसँगै महिलाहरुले पनि साथ दिनुभयो किनभने उहाँहरुको पनि गुन्यु चोली खोसिएको थियो ।’
साथै उहाँले अंग्रेजी नयाँ वर्षका दिन नै किन टोपी दिवस मनाउन परेको भन्ने प्रश्नमा अंग्रेजी नयाँ वर्ष नेपाली पाराले कसरी मनाउने त भन्दा अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस हुन गएको भन्दै जवाफ दिनुभयो ।
उहाँले भन्नुभयो,‘हामी पश्चिमा संस्कृति मान्छौँ । अंग्रेजी नयाँ वर्ष मनाउँछौँ । भ्यालेन्टाइन डे मनाउँछौँ । हामीलाई अंग्रेजी चाडपर्वको सबै डेट याद छ तर नेपाली नयाँ वर्ष कहिले भन्दा झुकिन्छौँ । तीज, दसैँ, तिहार कहिले पर्छ भन्दा मान्छेलाई त्यति झ्वाट याद नहोला । तर, यसो भन्दा हामीले कुनै धर्म संस्कृतिको विरोध गरेको होइन्। अंग्रेजी नयाँ वर्ष नेपाली पाराले कसरी मनाउने त भन्दा अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस हुन गएको हो ।’
बाबुराम भट्टराईको सरकारले हटाएको राष्ट्रिय पोशाक अहिले उहाँले नै टोपी दिवसको दिन सामाजिक सञ्जालमा फोटा राख्ने गरेको भन्दै त्यसलाई पनि एउटा सफलताको रुपमा हेरेको उहाँ बताउनुहुन्छ ।
‘सफलता चाहिँ कहाँ छ भने त्यतिबेला बाबुराम भटराईको सरकारले हटाएको राष्ट्रिय पोशाक अहिले भट्टराईले नै टोपी दिवसको दिन टोपी लगाएर सामाजिक सञ्जालमा फोटो हाल्नुहुन्छ । उहाँहरुलाई अहिले पछुतो लागेको छ । तर, उहाँहरुलाई अफ्ठयारो के छ भने क्यारिम बोर्डका गोटी जस्तो हुनुहुन्छ । कि पछाडिबाट कुनै शक्तिले उहाँहरुलाई प्रेसर दिरहेको छ,’ उहाँले भन्नुभयो,‘त्यसकै कारणले उहाँहरुले वैधानिकता दिन सक्नुभएको छैन । तर, उहाँहरुसँग पनि आफ्नो नेपालीत्व छ । आफ्नो संस्कारप्रतिको माया ममता छ । हाम्रो माग सरकारले सुनेन त्यसलाई सुनाउनकै लागि हामीले यो अभियान गरिरहेको हो ।’
संस्थापक नेपालले आफूहरुको माग टोपीको मात्रै नभई पोशाकसहितको भएको जानकारी दिनुभयो । प्राचिन समयदेखिको देशलाई चिनाउने माध्यम टोपी भएकाले त्यसलाई हटाउनुपर्ने जरुरी नदेखिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो,‘हाम्रो माग पोशाकसहितको हो, टोपीको मात्रै होइन । टोपी पनि पोशाकअन्तर्गत नै पर्छ । केही साथीहरुले पोशाक र टोपी अलगै गर्नुभएको छ, त्यो जरुरी होइन । सरकारले पोशाकलाई मान्यता दिन सकेन भनेपनि एउटा टोपीलाई त मान्यता दिनुपर्यो नि । राष्ट्रिय गान छ, राष्ट्रिय जनावर छ, तिनीहरु हटेका छैनन् । दौरा सुरवालले कसको बदानाम गर्यो र, किन हटाउनुपर्यो ? हाम्रो अभियान भनेको हाम्रो राष्ट्रिय पहिचान चाहियो त्यति हो । ’
यस्तै, टोपी दिवसका संयोजक घनश्याम श्रेष्ठले आफूहरुले टोपी दिवसको अभियान सुरु गर्दैगर्दा धेरै नै विरोध खेप्न परेको अनुभव सुनाउनुभयो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत स्टाटस नै लेखेर अभियानको विरोध गरेको उहाँले स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो,‘हामीले अभियान सुरु गर्दैगर्दा विरोधको आवाजहरु पनि सुनेका हौँ । कतिपय साथीहरुले टोपी र धोतीको कुरा उठाउनुभएको थियो । पूर्वप्रधानमन्त्री भट्टराईले समेत स्टाटस नै लेखेर हाम्रो विरोध गर्नुभएको थियो । तर, हाम्रो आन्दोलन बृहत् रुपमा फैलिसकेपछि बल्ल विरोधको आवाज सुन्न कम भएको छ ।’
उहाँले टोपी दिवसको दिनमा धोती दिवस पनि मनाउन थालिएको भन्दै कुनै पोशाकलाई तल झार्ने र कुनैलाई माथि पुर्याउने सोच नराखी सबै पोशाकलाई सम्मान गर्ने धारणा राख्नुभयो । टोपी नेपालको पहिचानको रुपमा चिनिनुका साथै आन्तरिक र बाह्य रुपमा व्यापार पनि बढेको बताउनुभयो ।
‘हामीले अघिल्लो वर्ष धोती दिवस पनि मनाएको सुन्यौँ । कुनै पोशाकलाई तल झार्ने र कुनैलाई माथि पुर्याउने भन्ने सोच छैन । सबै पोशाकलाई सम्मान गर्दै नेपाली टोपी, नेपाली पहिचान भन्ने नारा पनि राखेका छौँ । कसैको पोशाकलाई हामीले विरोध पनि गरेको छैनौँ । पोशाकलाई आफ्नो हिसाबले अघि बढाइराखेको छौँ । टोपीको प्रयोग चाडपर्वको बेलामा पनि धेरै हुन थालेको छ । माग पनि बढिरहेको छ । यसले आन्तरिक र बाह्य रुपमा एउटा व्यापार पनि बढेको छ,’ उहाँले भन्नुभयो ।
विश्वमा नै टोपी छ भने नेपालीको भएकाले नेपालको प्रतिनिधि गरिरहेको छ भनेर चिनाउने गरेको राष्ट्रको चिनारी टोपी नै हुनुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, टोपी दिवसका अर्का संस्थापक रामजी बलामीले आफूहरुले अभियान सुरु गर्दैगर्दा यो सफल रुप लिन्छ भनेर नसोचेको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले अभियान सुरु गर्दैगर्दा अभियानले यस्तो व्यापक रुप लिन्छ भन्ने सोचेका नै थिएनौँ । लिनुपर्छ भन्ने त लागेको थियो तर यो अवस्था आउला भनेर वा यति राम्रो होला भनेर कल्पना गरेको चाहिँ थिएन । सामाजिक सञ्जालबाट आन्दोलन सुरु गरेको हौँ । २०१४ बाट बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाली पोशाकलाई राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि राष्ट्रिय पहिचान केही त चाहियो भनेर अभियान सुरुवात गरेको हौँ । २०१६ सम्म सामाजिक सञ्जालमा त्यसपछि मइतीघरमा उभिएर अभियानलाई अगाडि बढाउँदै गयौँ ।’
अहिले टोपी दिवस नेपालमा मात्र नभएर विदेशमा रहने हरेक नेपालीहरुले पनि मनाउन थालेकोमा गर्व लागेको उहाँ बताउनुहुन्छ । टोपी कुनै जाति, भूगोल विशेषको पहिरण नभइ सबैले लगाउने भएकाले नेपाली टोपीलाई नै राष्ट्रको चिनारी बनाउनु पर्ने उहाँको भनाइ छ ।
-प्रमिला कार्की/नेपाल न्यूज बैंक