काठमाडौँ, १३ पुस । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत् पुगिसकेको बताउनुभएको छ ।
शनिबार डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (युएनडिओ)को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्नुहुँदै उहाँले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौँ । पहिला लोडसेडिङको अवस्था थियो । अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौँ । हरेक गाउँगाउँमा विद्युत् पुगिसकेको अवस्था छ । केही विकट ठाउँहरुमा पुग्न बाँकी छ ।’
यसैगरी उहाँले अहिले उत्पादित भइरहेको बिजुली करिब ३५ सय मेगावाटको हाराहारीमा रहेको बताउनुभयो । उहाँले ३५ सय मेगावाटको हाराहारीमा बिजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका शुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरु गर्न बजेटको अभाव रहेको बताउनुभयो । उहाँले डायस्पोराका नेपालीहरुले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताउनुभयो ।
त्यस्तै, जलवायू परिवर्तन र बसाइँसराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दिक्षित, विज्ञ डा.गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायू परिवर्तनको जोखिमबारे आफ्नो धारणा राख्नुभएको थियो ।