- प्रमिला कार्की
काठमाडौँ, १३ पुस । ललितपुर महानगरपालिकाले एडभान्स ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको छ । महानगरपालिकाले डेढ महिनाअघि कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा ट्राफिक कन्ट्रोल सिस्टमसहितका ट्राफिक लाइट जडान गरेको थियो भने गत पौष १ गतेदेखि उक्त ट्राफिक लाइट सञ्चालनमा ल्याइएको हो ।
पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँच स्थानमा लाइट जडान गरिएको छ । नेपाल न्यूज बैकसँगको कुराकानीमा महानगरपालिकाका सूचना अधिकारी देव गुरागाईँले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ एआई ट्राफिक लाइट जडान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्टेलिजेन्स प्रणालीमा आधारित रहेका लाइटले जता धेरै सवारी साधनको चाप छ, त्यतैतिर हरियो बत्ती बालेर अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने गरी काम गर्छ ।
उहाँले भन्नुभयो, ‘ट्राफिक लाइट भन्नेबित्तिकै ट्राफिकलाई व्यवस्थापन गर्नको लागि गरिने भन्ने नै बुझिन्छ । अहिले जडान गरिएको ट्राफिक लाइट भनेको सवारीलाई अझै व्यवस्थापन गर्ने, हिजोको भन्दा अझ सवारी चापलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो । यसले चाहिँ एउटा चोकबाट अर्को चोकमा कहाँ बढी सवारीको चाप छ । त्यहाँ अघिल्लै चोकबाट कन्ट्रोल गर्ने र जाम नभएको ठाउँमा अझ रफ्तार बढाउने भन्ने हिसाबले सुरु गरिएको छ । अहिले हामीले कुपण्डोलदेखि सातदोबाटोसम्म यसलाई प्रयोगमा ल्याइराखेको छौँ ।’
साथै, उहाँले यस सिस्टमले ट्राफिक लाइटमा यात्रुले धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने भएकाले सकारात्मक पाटो रहेको बताउनुभयो ।
सहरी विकास योजना महाशाखा प्रमुख तथा परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएको भन्दै इन्टेलिजेन्स ट्राफिक लाइट २०२२ मा नै जडान गर्ने योजना रहेको तर केही कारणबस ढिलो भएको बताउनुभयो ।
लाइटले कसरी काम गर्छ
लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल रिड गर्छ र तत्कालै ट्राफिक लाइटको चिपलाई जानकारी गराउँछ । सोही जानकारीको आधारमा सिस्टमले जता धेरै सवारीसाधन छ, त्यतातिर हरियो बत्ती बाल्छ ।
उहाँले भन्नुभयो, ‘ललितपुर महानगरले सुरुदेखि नै ट्राफिक व्यवस्थापनमा ध्यान दिँदै आएकाले यसै अन्तर्गत इन्टेलिजेन्ट ट्राफिक सिस्टम लिएर आएको हो । नेपालमा भएका ट्राफिक लाइटभन्दा यो धेरै नै फरक छ । लाइटले भेकल काउन्ट गर्छ । जसमा भेकल काउन्ट गरेर रातो र हरियो बत्तिको समय छुट्याउने गर्छ । इन्टिलिजेन्ट ट्राफिक सिस्टम पाँच ठाउँमा जडान गरिएको छ । यो जडान हामीले २०२२ मै गर्ने भनेपनि केही कारणले समयमै जडान हुन सकेको थिएन । जडान खास एकदेखि डेढ वर्षमा सकिनुपर्ने हो तर केही वर्ष ढिला हुनपुग्यो ।’
अहिले ललितपुर बसपार्कलाई व्यवस्थापन गर्नको लागि दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरले पहिलो फेजको प्रोजेक्टमा ११७ वटा जक्सनको भिजिबिलिटी बुझाएको र त्यसमध्ये ५० वटा प्रयोगमा जाने भनेर पहिले नै निर्णय गरिसकेका छ । तर, गणनामा जाँदा लगभग ६३ देखि ६५ थप्नुपर्ने अवस्था रहेको छ ।
‘अहिले ललितपुर बसपार्कलाई कसरी व्यवस्थापन गर्ने भनेर धेरै नै अध्ययन गरिसकेका छौँ । यसैबीचमा दोस्रो फेजमा इन्टेलिजेन्स ट्राफिक लाइटलाई थप्नुपर्ने अवस्था छ । सुरुमा हाम्रो कुपण्डोलको इन्ट्रान्स भयो, अहिले हामी जावलाखेलसम्म आइसकेका छौँ । जावलाखेललाई बेस गरेर हामी दुई–दुई पोइन्टहरु पहिचान गरेर गएका छौँ । यो पहिलो फेजको प्रोजेक्टमा हाम्रो सल्लाहकारले चाहिँ ११७ वटा जक्सनको भिजिबिलिटी बुझाएको छ । त्यसमध्ये ५० वटा प्रयोगमा जाने भनेर पहिले नै निर्णय गरिसकेका छौँ । तर, काउन्टिङमा जाँदा लगभग ६३ देखि ६५ थप्नुपर्ने अवस्था देखियो’ उहाँले भन्नुभयो ।
बृहत् गर्ने लक्ष्य
लाइट विस्तार गर्ने महानगरको लक्ष्य बृहत् छ । गोदावरी नगरपालिकासँग समन्वय गरेर लाइट जडानको काम गोदावरीसम्म नै गर्ने लक्ष्य रहेको छ । ‘जावलाखेलदेखि लगनखेल हुँदै सातदोबाटोको हरिसिद्धिसम्म लाइट जडान गरिएको छ । तर, हाम्रो लक्ष्य गोदावरीसम्म नै हो । तर, पछि गोदावरी नगरपालिकासँग समन्वय गरेर यो लाइट जडानको काम गोदावरीसम्म नै गर्ने छौँ । यसैगरी जाउलाखेलबाटै एकान्तकुना, नख्खु, भैँसेपाटी हुँदै चुनीखेलसम्म नै जडान गर्ने हाम्रो लक्ष्य छ,’ उहाँले भन्नुभयो ।
त्यसैगरी तेस्रो चरणमा पुल्चोकको महानगरको अगाडिको जक्सनलाई छोडेर माथिको पुलसम्म पनि अध्ययन गरिरहेको भन्दै आगामी ८२/८३ मा त्यहाँसम्म जडान हुनेगरी डिपिआर तयार गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यसैको तेस्रो पाटोमा पुल्चोकको महानगर अगाडिको जक्सनको बाटोबाट अहिलेको जुन ग्वार्कोको ओभरपास बन्दैछ त्यसलाई छोडेर माथिको पुलसम्म पनि अध्ययन गर्दै छौँ र यसको लागि महानगरले बजेट पनि छुट्याएको छ । अहिले डीपीआर तयार गरेर आगामी ०८२/८३ मा त्यहाँसम्म जडान हुनेछ ।’
योजना प्रमुख महर्जनका अनुसार महानगरको आफ्नै लगानीमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरेको हो । जसमा पाँच स्थानमा जडान गर्दा ६ करोड ८८ लाख रुपैयाँ खर्च भएको छ ।
पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो कि भनेर प्रश्न पनि आउने गरेको छ । तर, अब आगामी जडानका लागि सफ्टवेयर किन्नु नपर्ने कारण खर्च कम हुने उहाँ बताउनुहुन्छ ।
‘झण्डै ६ करोड ८८ लाखको प्रोजेक्ट हो । बजेट सबै ललितपुर महानगरकै हो । यसमा कसैबाट सहयोग मागेका छैनौँ । पछिल्लो समय पाँच ठाउँको जडानका लागि बजेट धेरै भयो की भनेर प्रश्न उठिरहेका छन् । तर अब आगामी जडानका लागिसफ्टवेयर किन्नु पर्दैन,’ उहाँले भन्नुभयो,‘सबैभन्दा ठुलो कुरा नै सफ्टेवयर किन्नु हो । अब त्यो छाडेर हामीले बत्ति, तार मात्र किन्ने हो । अब आगामी दिनको जडानमा धेरै खर्च आउँदैन ।’
बग्गीखाना उपत्यका ट्राफिक लाइट, सडक विभाग, यातायात विभाग सबैको राम्रो सहयोग भएता पनि नयाँ काम भएको हुँदा आमजनता, नगरपालिका र विभागहरुलाई पनि सिस्टम स्वीकार गर्न समस्या आइरहेको उहाँको भनाइ छ ।
‘सडक, सडक विभागअन्तर्गत पर्छ । उहाँहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ । दोस्रो कुरा ट्राफिक लाइट भनेको उपत्यका ट्राफिक प्रहरी हो । उहाँहरुको लाइट सञ्चालनमा छ । उहाँहरु पनि सहकार्य गर्नुपर्ने हुन्छ । ट्राफिक लाइट उल्लंघनको कुरा यातायातसँग गर्नुपर्यो । सबैसँग राम्रो सम्बन्ध छ र सबैले राम्रो सहयोग गर्नुभएको छ । नयाँ कुरा भएको हुनाले जनता, नगरपालिका र माथि उल्लेख गरेका संस्थाहरुलाई स्वीकार गर्न समस्या आइरहेको छ’ उहाँले भन्नुभयो, ‘हामीले जहाँबाट बाटो काटीरहेका हुन्छौँ त्यहीँबाट काट्न पाए सजिलो हो । जुनबेला पनि जान पाए सजिलो हो । यस्तो व्यवस्थामा ढाल्न अलिका समस्या हुनु स्वभाविक नै हो । तर, यसले सबैलाई नियम कानुनको दायरामा भने ल्याउँछ । यसबाट जनता र साधन दुवैको सुरक्षा हुने भयो यो सबैलाई फाइदा नै हुने कुरा हो ।’
विदेशमा प्राय जसो धेरै देशहरुमा इन्टेलिजेन्स ट्राफिक लाइटहरु नै जडान गरिएको हुन्छ तर नेपालमा भने यो लाइटको सफ्टवेयर भारतबाट आयात गरिएको हो ।
जापानको जस्तो प्रविधि नेपालमा लागु गर्न नसकिने अवस्था देखेपछि भारतबाट सफ्ट्वयर आयात गरिएको भन्दै उहाँले भन्नुभयो, ‘यसको बारे त्यस्तो ज्ञान थिएन । विज्ञहरुको सहकार्यमा प्रोजेक्ट लन्च त गर्यौ । यसै विषयमा जापान गएका थियौँ त्यहाँबाट पनि धेरै कुराहरु सिक्न पायौँ । तर, जापानको जस्तो प्रविधि लागु गर्न सकिन्छ जस्तो देखिएन र त्यसपछि भारत जाने कुरा भएको हो । भारतसँग हाम्रो लगभग सबै कुरा मिल्ने भएको हुनाले त्यहाँबाट आएपछि यसलाई अगाडि बढाइएको हो । पहिला सोचेको तुलनामा धेरै नै परिवर्तन गर्नुपर्यो यो लाइटमा तर जति लागत हो त्यहीँभित्र बसेर नै काम पूरा गरेका छौँ । भारतबाट सिकेको कुरा प्रयोग भएको छ ।’
चुनौती प्रशस्त
इन्टेलिजेन्स ट्राफिक लाइट लगाएपछि ट्राफिक नियन्त्रणमा सहजता भएपनि यसका केही चुनौतीहरु पनि छन् । विभिन्न चाडपर्वको बेला हुने पैदलयात्री र सवारी साधनको चाप धेरै बढ्ने भएका कारण थाम्न नसकेको अवस्था पनि भोग्नु परेको महर्जन बताउनुहुन्छ ।
जनताले ट्राफिक व्यवस्थापनमा समस्या देखेपछि लाइट नै भएन भन्ने प्रश्न सम्म उठाएको भन्दै ट्राफिक प्रहरीलगायत अन्य सरोकारवालहरुसँग बसेर यसको समाधान खोजी रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘समस्या भनेको चाडपर्वको बेला अलि गाह्रो हुन्छ । अस्ति क्रिसमसको बेला भीडले गर्दा थाम्न नै नसकेको अवस्था थियो । एक त त्यस्तो अवस्थालाई फोकस गरेर बनाएको पनि थिएन, एक दुई दिनको लागि मात्र हुने हो भन्ने थियो । त्यस्तो बेला व्यवस्थापन गर्न समस्या परेको थियो । जनताले पनि यो समस्या देखेपछि लाइट नै भएन भन्ने कुरा उठाएका छन् । साधनको समस्याभन्दा पनि मान्छेको संख्या बढी भएपछि समस्या हुन्छ । यस विषयमा ट्राफिक प्रहरीलगायत अन्य सरोकारवालहरुसँग बसेर यसको समाधान खोजी रहेका छौँ ।’
सहज ठान्छन् हाछेथु
यस्तै, ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाछेथुले भने चाडवर्पमा हुने चापलाई आफूले चुनौतीको रुपमा नलिएको बताउनुभयो । आफूसँग ट्राफिक पुलिसमा २९ वर्ष काम गरेको अनुभव रहेको सुनाउँदै उहाँले जस्तो अवस्थामा पनि ट्राफिक व्यवस्थापन सजिलै गर्न सक्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जात्राको बेलामा पनि ९९ प्रतिशत त बत्ति निभाउँदै निभाउँदैनौँ । मान्छे पेटीमा जानुपर्यो नि । मान्छेलाई साइडमा लगाउने पार्किङको व्यवस्था मिलाउने हो । जात्रा केही समयको मात्र हुन्छ । जस्तो चाडपर्वमा पनि म मिलाउन सक्छु । म ट्राफिक पुलिसमा २९ वर्ष काम गरेको अनुभव छ । कुनैपनि कुरालाई समस्याको रुपमा हेरिन । पाँचसात मिनेट रोकेर पास गर्दा केही फरक पर्दैन ।’
त्यस्तै, काठमाडौँको थापाथलीमा राम्रो ट्राफिक व्यवस्थापन नगरेका कारणले समस्या परेको भन्दै उहाँले भन्नुभयो,‘एउटा समस्या के हो भने थापाथली चोकमा बत्ति निभाइदिन्छन् । त्यहाँबाट दुई मिनेटमा ५० वटा गाडी पठाउनुपर्ने ठाउँमा पाँच मिनेटसम्म पठाएको पठाइ गरिदिन्छन् । त्यहाँबाट १२० वटा गाडी आउँछन् । त्यो त हाम्रो ट्राफिक लाइटले भ्याउँदैन । उहाँले पनि बाल्नुपर्छ अनि बल्ल सिस्टममा जान्छ ।’
ललितपुर महानगरले ट्राफिक लाइटको व्यवस्थासँगै अर्को एउटा नयाँ अभ्यासको सुरुवात गरेको छ । ललितपुरमा ट्राफिक लाइटको नियम पालना भिआइपीले समेत गर्नुपर्ने सिस्टम छ । भिभिआइपी बाहेक कसैको लागि पनि ट्राफिक लाइट बन्द नगर्ने प्रहरी प्रमुख हाछेथु बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘टप लेभलका पाँच भिभिआइपी भन्छौ उहाँहरु आउनुभयो भने मात्र ट्राफिक लाइट निभाउने गरेका छौँ । सुरक्षाका लागि सडकमा बस्दा ठुलो बत्ति बालेर आए भनेपछि आधा घण्टासम्म कुरिरहेको हुन्छ । उहाँलाई पठाउँदा लाइनमा बसेको सर्वसाधारणलाई रिस उठ्छ । सडक ठुलाबढाको मात्र हो त, हामीले मात्र नियम पालना गर्नुपर्ने ? भन्ने यो समस्याबाट मुक्त भएका छौँ अहिले ।’
साथै, उहाँले इन्टेलिजेन्स ट्राफिक लाइट जडान गरिएसँगै ट्राफिक प्रहरीलाई पनि धेरै सहज भएको बताउनुभयो । धेरै जाममा बस्नुपर्ने, बाटो काट्ने पालो कुर्नपर्ने, धेरै दुर्घटना हुने जस्ता समस्याहरुको समाधानको बाटो इन्टेलिजेन्स ट्राफिक लाइट बनेको उहाँको भनाइ छ ।
‘म पूर्वट्राफिक प्रहरी हो । म सडकमा २९ वर्ष बसेको छु । हात हल्लाएर ट्राफिक जाम खोल्ने ट्राफिक पुलिसले नै हो । तर, अहिले लाइटले गर्दा ट्राफिक पुलिसलाई पनि धेरै सहज भएको छ । पहिले गाडी पाँचसात मिनेटसम्म तान्थ्यौँ । समय थाहा हुन्न थियो,’ उहाँले भन्नुभयो, ‘अहिले दुई मिनेटभन्दा बढी हुन्न । पहिला बाटो काट्ने पालो आउँदैनथ्यो । अहिले त्यो समस्या छैन । यसका साथै लाइटले दुर्घटना पनि कम गर्छ । यसको सबैभन्दा राम्रो कुरा २४ घण्टा लाइट अन हुन्छ । नेपालमा यो अहिलेसम्म अभ्यास गरिएको थिएन । पहिला राति निभाउने गरेका थियौं सुनसानमा किन चाहियो भनेर । त्यो हाम्रो अबुझ रहेछ । रातिको समयमा पनि लाइट अफ हुँदा ओभर स्पिड हुने गर्छ । र दुर्घटना हुने हुन्छ । त्यसलाई यो सिस्टमले कम गर्छ ।’