क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनुपर्छ : डा.बालकृष्ण शर्मा [भिडिओ]

6
  • आकांक्षा धामी

काठमाडौँ, १० पुस । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रीष्ट भेला भन्ने जनाउँछ । क्रिसमस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येशू) ख्रीष्टको जन्म दिवसका अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरिदिएका हुन् ।

बाइबलमा येशू ख्रीष्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेको ख्रीष्टियन धर्मबारेका अध्येता डा.बालकृष्ण शर्मा बताउनुहुन्छ । उहाँले क्रिसमस भन्ने शब्दले ख्रीष्ट भन्ने शब्दलाई बुझाउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्रिसमस भन्ने जो शब्द हामी प्रयोग गर्छौँ, यसले चाहिँ ख्रीष्ट भन्ने शब्दलाई सम्बोधन गर्छ । ख्रीष्ट शब्द बाइबलमा उल्लेख छ । बाइबल हाम्रा निम्ति संसारमा मानव बनेर आउनुभयो । हाम्रो उद्धारकर्ताको रुपमा आउनुभयो र उहाँलाई येशू ख्रीष्ट भनेर पनि सम्बोधन गर्छौँ । क्रिसमस ख्रीष्टसँग सम्बन्धित छ । बाइबलमा पनि येशूख्रीष्टको बारेमा धेरै कुरा बताइएको छ । बाइबलमा येशू ख्रीष्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन । तर, पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन ।’

यसैगरी उनले येशू ख्रीष्ट संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नका लागि आउनुभएको बताउनुभयो । उहाँले आजभन्दा इ.सं २०२४ वर्ष अगाडि येशू ख्रीष्टकै नामबाट इ.सं स्थापित भएको समेत बताउनुभयो ।

‘संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नका लागि येशू ख्रीष्ट आउनुभयो । आजभन्दा २०२४ वर्ष अगाडि । जसलाई हामी इ.सं भन्छौँ । येशू ख्रीष्टकै नामबाट स्थापित सम्वत् हो । तर, हामीले बाइबललाई हेरौँ भनेपनि दुई भागमा विभाजन भएको छ । एउटा पुरानो करार भन्छौँ जुन येशू आउनुभन्दा अगाडि र अर्को नयाँ करार येशू आउनु भएपछिको हो, उहाँ भन्नुहुन्छ ‘येशू ख्रीष्ट अन्नतदेखि हुनुहुन्छ भन्ने बाइबलको मान्यता छ । ’

यसैगरी क्रिसमसको मुख्य उद्देश्य भनेको नै मानव जातिलाई उद्धारका रुपमा घोषणा गरिएको दिनका रुपमा बुझ्नुपर्छ । शर्माका अनुसार सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जो व्यक्तिहरुसँग परमेश्वर प्रशन्न हुनुहुन्छ तीनिहरुलाई शान्ति दिन येशू आउनुभएको हो ।

उहाँले ‘क्रिसमस डे’ लाई ऐतिहासिक रुपमा हेर्दा डिसेम्बर २५ तारिखका दिन उत्सव गरेर मनाइने गरिएको बताउनुभयो । शर्माले अगाडिकै दिनहरुबाट, हप्ताहरुबाट पनि क्रिसमसको गीतहरु गाएर संसारभरि नै मनाइने चलन रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्रिसमसको गीत भन्नाले येशु संसारमा आउनुभएको बारेमा मानिसलाई बताउनका लागि, घोषणा गर्नका लागि र नेपालमा सन्दर्भमा हेर्नुभयो भनेपनि विभिन्न चर्चहरुमा क्रिसमसका गीतहरु गाउने चलन छ जसलाई हामी क्यारल भनेर पनि भन्छौँ ।’

उहाँले क्रिसमसका अवसरमा कुनै विशेष परिकार वा विशेष खाना यो भनेर नतोकिएको बताउनुभयो । उहाँले हरेक ख्रीष्टियनले क्रिसमस रमाइलो गरेर या खुसी साटेर मनाए पनि येशु ख्रीष्ट संसारमा आउनुको महत्त्वलाई मानिसको पाप क्षमा गर्नका लागि आएको कुरा भुल्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन् । हरेक व्यक्तिले चाहिँ यो पनि बुझ्नुपर्दछ की येशू ख्रीष्ट संसारमा मानिसको पाप क्षमा गर्नका लागि आउनु भएको कुरा भुल्नु हुँदैन । येशू ख्रीष्ट पापको निम्ति क्रुशमा मर्नुभएको र तेस्रो दिनमा बौरिएर उठ्नुभएको कुरा पनि जोडिन्छ ।’

यसैगरी उहाँले क्रिसमस बुझेर मनाउने ख्रीष्टियन र नबुझेर मनाउने ख्रीष्टियनहरु समेत भएको बताउनुभयो । उहाँले क्रिसमसको अर्थ नामधारी ख्रीष्टियनहरुले नबुझेर समेत मनाउने गरेको बताउनुभयो । शर्माले क्रिसमसले जहिले पनि येशू ख्रीष्टले दिनुपर्ने मुक्तिलाई सम्बोधन गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब क्रिसमस संसारमा कसैले बुझेर त कसैले नबुझेर समेत मनाउने गरेको पाइन्छ । तर यसमा पनि क्रिसमस बुझेर मनाउने ख्रीष्टियन र नबुझेर मनाउने ख्रीष्टियनहरु पनि छन् । यसमा पनि नामधारी ख्रीष्टियनहरुले बुझ्छन् कि बुझ्दैनन् होला । क्रिसमस मनाउनु भनेको येशू ख्रीष्ट मुक्तिदाताका रुपमा आउनुभएको छ भन्ने बुझ्नु हो । अब चाडपर्वका रुपमा विभिन्न व्यक्तिहरुले यसलाई मनाउँछन् । यो मनाउने कुरा आफैँमा गल्ती होइन, किनभने यो उत्सवको समय पनि हो । ’

यसैबीच उहाँले उत्सव हो भन्दैमा क्रिसमस किन मनाइन्छ रु भनेर एकचोटी सोचेर मात्र मनाउन अनुरोध गर्नुभयो । क्रिसमस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र क्रिसमसको अर्थ बुझेर र येशूको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउन उहाँको अनुरोध छ ।

उहाँले चर्चमा मनाइने क्रिसमस र विभिन्न ठाउँमा मनाइने क्रिसमसमा निकै भिन्नता रहेको बताउनुभयो । उहाँले चर्चभित्र सामूहिक रुपमा अरु व्यक्ति पनि आएर उत्सव मनाउने तथा आराधान गरेर मनाइने गरिएको बताउनुभयो । डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने तथा यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली ९चर्च०मा गएर प्रभु येशुको यादमा प्रार्थना गर्ने अनि मैनबत्ती बाल्ने गरेको बताउनुभयो ।

घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको उहाँको भनाइ छ ।

यसैगरी शर्माले बाहिर मनाइने क्रिसमसमा धेरै जनाले एउटा चाडको रुपमा मनाउने तर त्यसको अर्थ चाहिँ बुझेको नभेटेको बताउनुभयो । जसमा यस दिन अन्य धर्मका मानिसहरू पनि मैनबत्ती जलाएर प्रार्थना गर्ने, ताराहरुसँग जोडेर उत्सव मनाउने गरिएको उहाँको भनाइ छ ।

उहाँले पछिल्लो समय फेसनको रुपमा क्रिसमस मनाइने गरिएको बताउनुभयो । उहाँले फेसनको रुपमा नभइ यसको गहिराइमा गएर बुझेर मात्र मनाउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

यस पर्वमा क्रिसमस ट्रीको समेत विशेष महत्त्व रहेको उहाँले बताउनुभयो । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यसबेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो । एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

(डा.बालकृष्ण शर्मासँग कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...