​ ‘मुख्य सचिव भइसकेकाहरुले दलको झोला बोक्ने हो ?’

44

काठमाडौँ, ९ पुस । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसकेको आरोप लगाउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको संघीय निजामति सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफलमा बोल्नुहुँदै उहाँले मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत बनाउन नसक्दा निजामति कर्मचारीहरुमा समेत नकारात्मक प्रभाव पारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मलाई कहिलेकाहीँ खड्किन्छ, हाम्रो मुख्य सचिव भइसकेको मान्छेहरुले पनि आफ्नो पदीय हैसियत किन रहन सक्नुभएन होला जस्तो लागेको छ । यसले आम निजामति कर्मचारीदेखि तलसम्मकालाई के प्रभाव परेको होला आफैँले हेर्न पर्ने विषयवस्तु हो कि होइन होला ?’

उहाँले कर्मचारी सरुवाको विषयमा समस्या रहेको भन्दै सरुवालाई व्यवस्थित गर्न अहिले भइराखेको कानुनमा पनि अझ अझ ठोस र मूर्त बनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘हाम्रो एउटा सरुवाको समस्या छ । सरुवालाई व्यवस्थित गर्ने अलिकति अहिले हाम्रो भइराखेकोमा अझ के बनाउन सकिन्छ होला । अलि ठोस अलि मूर्त यो कानुनमा चाहिन्छ भन्ने जिज्ञासा राख्न चाहन्छु ।’

त्यस्तै, पूर्वमुख्य सचिव नै राजनीतिक दल कै झोला बोकेर जाने हो भने मात्र मुख्य सचिवको पदीय मर्यादामा प्रश्न उठ्ने बताउनुभयो । मन्त्रीले आफ्नो स्वार्थका लागि सचिवहरुको सरुवा गर्ने गरेको भन्दै राजनीतिक शिक्षामा पनि कमि भएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...