काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार काठमाडौँमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१औँ जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताउनुभयो ।
‘यतिबेला पार्टीमा विचलन छ । यसलाई स्वीकार गर्नुपर्छ । यस्तोबेल सभापतिज्यूले केही सुुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ । राजनीति गर्नेहरुलाई अप्ठयारो पर्छ । हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्नुपर्छ,’ उहाँले अगाडि भन्नुभयो,‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्णप्रसाद भट्टराई)कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो । गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ । यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ ।’
डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बिपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताउनुभयो ।
उहाँले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताउनुभयो ।