काठमाडौँ, ८ पुस । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम सुरू भएको छ । शनिबार ककनीमा आर्थिक वर्ष २०८१र८२ को कार्यक्रमअन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो ।
नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो । तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ ।
प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतिकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताउनुभयो ।
यस्तै, समितिका अध्यक्ष अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) ले तालिम अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिक्नेछ भन्ने विश्वास लिइएको बताउनुभयो । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘सिक्नका लागि जहिले पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’
अध्यक्ष शेर्पाले यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताउनुभयो ।
यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्याउन सहयोग पुगेकाले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो ।
कला संरक्षणको प्रयास
थाङ्का नेपाली कला र संस्कृति मात्र नभएर बौद्ध धर्मको महत्त्वपूर्ण पाटो पनि हो । यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ । ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले भन्नुभयो ।
सहभागीहरूका लागि अवसर
तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कलामा रुचि भएको हुनुपर्छ । यो तालिम थाङ्का कलामा चासो राख्नेहरूका लागि सुनौलो अवसर मानिएको छ । यसले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोकलगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी भएका छन् ।
कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम साङ्मो, समितिका म्हारसाङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।