संविधान संशोधनका लागि चाँडै संयन्त्र बन्छ : गगन थापा

13

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि चाँडै संयन्त्र बनाउने बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित नेपाली कांग्रेस एकसय दिने अभियान कार्यक्रममा बोल्नुहुँदै उहाँले सरकारमा रहेका दुई ठुला राजनीतिक दलहरु कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने बताउनुभयो ।

उहाँले कांग्रेसले र एमाले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने जानकारी दिनुभयो ।

‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । अब केही दिनभित्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले एउटा संयन्त्र बनाउँछ । त्यो संयन्त्र बनाएर यसलाई पनि हामी सम्हाल्छौँ । किनकी धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर कांग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौँ र त्यसपछि अरु राजनीतिक दलहरुसँग संवाद गर्छौँ,’ उहाँले भन्नुभयो, ‘किनभने यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुनेकुरा होइन । हामी माओवादी, मधेसका अरु दलहरुसँग संवाद गर्छौँ । दलहरुको बीचमा समझदारी बनाउँछौँ र न्यूनतम कुराहरु संशोधन गर्छौँ । एउटा राजनीति दलले निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेला पनि अर्को एउटा सानो दलसँग टाँसिन जानुपर्ने जुन एउटा बाध्यता छ त्यसबाट संविधानलाई बाहिर निकाल्न पर्नेछ ।’

उहाँले २०८४ को चुनावको कुरा गर्दैगर्दा ०८१, ०८२ र ०८३ को जिम्मेवारीबाट भाग्न नपाइने बताउनुभयो । कांग्रेसले तीन वर्षमा ०८४ मा यो यो गर्‍यौँ भन्ने हैसियत बनाएर जानुपर्ने भन्दै सरकारको धेरै फेरबदल र चकचक गर्ने च्याप्टर बन्द गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘२०८४ को कुरा गर्दैगर्दा के कुरा गर्न पाइन्न भने ०८१, ०८२, ०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । २०७९ सालको चुनावमा नेकपा (एमाले) पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यी सबै कुराको बीचमा सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले पाँच वर्ष बर्बाद भयो, अब म राम्रो गर्छु भन्यौँ, पाँच वर्षको जिम्मा लिने कोही भएन । तर, ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा योयो गर्‍यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । सरकारको धेरै फेरबदल, यताउता गर्ने, धेरै चकचक गर्ने, यस्तो च्याप्टर बन्द गर्नुपर्छ ।’

उहाँले देशभरिको चुनावहरु हेर्दा एकदमै धेरै महँङ्गो भएको भन्दै यसलाई छलफलको विषय बनाउन आवश्यक रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...