सुदूरपश्चिम पुगेर शेखरले भने– ‘कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु’

11

धनगढी, ६ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताउनुभएको छ । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहनुभएका कोइरालाले सम्बोधन गर्नुहुँदै अबका दिनमा पार्टीभित्र अन्याय हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा आफूले लिन्छु । म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेको छु । विगतमा तपाईंहरुमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईंहरुको पीडा म बुझ्छु । अब १५औँ महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिनँ । तर यसका लागि तपाईंहरुको सहयोग चाहिन्छ । ’

कोइरालाले कांग्रेसको १५औँ महाधिवेशन लक्षित गर्दै महाधिवेशन समयमै हुनुपर्ने बताउनुभयो । उहाँले देश र लोकतन्त्रलाई बचाउन भए पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्ने बताउनुभयो ।

उहाँले कांग्रेस र एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ । तर, सरकारको कार्यशैली भने सन्तोषजनक छैन । म नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरुको कार्यशैलीबाट सन्तुष्ट छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...