जनकपुर र सुदूरपश्चिम फाइनलका लागि तयार, यस्तो भन्छन् दुवै टोलीका कप्तान

2

काठमाडौँ, ५ पुस । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदै छ ।

शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुवै टोलीका कप्तानले फाइनलका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलिको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौँ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौँ । परिणामको बारेमा सोचेका छैनौँ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौँ, बराबरीको टक्कर दिने छौँ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुँदैन । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौँ त्यसरी नै खेल्ने छौँ । फाइनल खेलका लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठुलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेइको’ कार प्रदान गरिनेछ ।

Share This:
सम्बन्धित खबर
Loading...