काठमाडौँ, ४ पुस । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमाकानुनी व्यवस्थाको आवश्यकता’ विषयक छलफलमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा आजको यो छलफल अत्यन्तै महत्त्वपूर्ण छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिकै सहयोगमा यससम्बन्धी कानुनको मस्यौदा निर्माण गरी यथाशीघ्र अघि बढाउन हामी तयार छौँ ।’
दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा समितिले चलाएको छलफलप्रति आफू सकारात्मक रहेको मन्त्री गुप्ताको भनाइ थियो ।
पछिल्लो समय सङ्घीय निजामती सेवा विधेयक पारित गराउन मन्त्रालयको सम्पूर्ण शक्ति लागिरहेको चर्चा गर्नुहुँदै उहाँले दलित समुदायको अधिकारसम्बन्धी कानुनको मस्यौदा निर्माणमा मन्त्रालयले समितिको पनि साथ खोजेको स्पष्ट गर्नुभयो ।
बैठकमा समिति सभापति कमला पन्तले विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बचनवद्धता व्यक्त गर्दै समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने जानकारी दिनुभयो ।
छलफलमा राष्ट्रिय सभाका सांसदहरू बामदेव गौतम, झक्कुप्रसाद सुवेदी, विष्णुप्रसाद विश्वकर्मालगायतले भाग लिएका थिए ।