काठमाडौँ, ४ पुस । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानुनका कुराहरु उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताउनुभएको छ ।
बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्नुहुँदै उहाँले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेताहरुको पितृसतात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्घता हुन्छ भन्छन् । रक्त अशुद्घताका र शुद्घताका कुरा धेरै सुन्यौँ । विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्घ हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रवाधान छ । तर, यसको विषयमा कुरा गर्दा धेरैचोटी अपमानित भएका समेत छौँ ।’
साथै उहाँले हरेक कुरामा महिला पुरुषबीच समानता हुनुपर्ने बताउनुभयो । उहाँले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताउनुभयो ।
यसैगरी शर्माले संविधानमा नागरिकताको विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गर्नुभयो ।