आइजीपीलाई गृहमन्त्री लेखकको निर्देशन- हिरासतको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्नु

29

काठमाडौँ, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिनुभएको छ ।

बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको हो ।

बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ ।

मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजीपीलाई निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भन्नुभयो,‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दै छ ।’

त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...