महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै

16

काठमाडौँ, ४ पुस । महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ ।

मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार बिहीबार बिहान ११ः४५ बजे सुरु हुने छ ।

एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३.१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।

यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेट रनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बंगलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । सुपर फोरको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रबार बंगलादेशसँग भिड्ने छ ।

सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतबार बिहान हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...