काठमाडौँ, १ पुस । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रिकालीन उडान सुरु गरेको छ ।
सोमबार साँझ सञ्चारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौँदेखि राजविराजको दुईतर्फी रात्रि उडान शुभारम्भ भएको हो ।
बुद्ध एयरले रात्रिकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रिकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रिकालीन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रिकालिन उडान सुरु गरेको हो ।
बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसँगै रात्रिकालीन उडानको शुभारम्भ गरेको हो ।
प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाइट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु गर्न उपयुक्त ठानिएको हो । राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ ।