काठमाडौँ, १ पुस । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शी ढङ्गले अझ उचाइमा पुर्याउन संसदीय पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
सोमबार काठमाडौँमा संसदीय मामिला पत्रकार समाजद्वार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्नुहुँदै उहाँले संसदीय पत्रकारिताले नै समाजमा संसदीय व्यवस्थाको महत्त्वलाई बुझाउन मद्धत गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाजमा संसदीय व्यवस्थाको महत्त्वलाई बताउने, बुझाउने र यसले गरिरहेको गतिविधिलाई जनतामाझ पुर्याउने र पारदर्शी ढङ्गले यसलाई अझ उचाइमा लैजाने काममा संसदीय पत्रकारिताले भूमिका खेल्दै आएको छ ।’
उहाँले संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजान संसद्का गतिविधिलाई खुला गरेको बताउनुभयो । पत्रकारहरुलाई लबीभित्र ल्याउने व्यवस्थाबारे नियमावलीमा समेत प्रबन्ध गरेर कार्यविधि बनाउने कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘संसद्को गरिमालाई उच्च बनाउन, संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन र संसदीय गतिविधिलाई जनतामाझ लैजानलाई हामीले संसद्का गतिविधिलाई खुला गरेका छौँ । तर, खुला गर्दै गर्दा यसका सकारात्मक र नकारात्मक दुवै पाटो छन् । यसलाई के गर्दा उचित हुन्छ हामीले यसको समीक्षा गर्न जरुरी छ । म आएपछि हामीले पत्रकारहरुलाई लबीभित्र ल्याउने व्यवस्थाको बारेमा नियमावलीमा एउटा प्रबन्ध गरेका छौँ । त्यसको आधारमा कार्यविधि बनाउने कार्य पनि गरिराखेको छौैँ ।’
यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद र सिङ्गो संसद् सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्ने धारणा राख्नुभयो । सांसदहरु र पत्रकारहरुकाबीच थोरै असमझदारी देखिएको भन्दै त्यसको लागि खुला बहस गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सांसद र सिङ्गो संसद सचिवालयको सहकार्यलाई व्यवस्थित गरेर लैजानुपर्छ । सांसदहरु र पत्रकारहरुकोबीच थोरै असमझदारी कहीँ कतै असहज बनेजस्तो देखिन्छ । त्यसका लागि अलि खुला बहस हुनुपर्छ जस्तो लाग्छ ।’
त्यस्तै, उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले सत्य र सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।