नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ : प्रधानमन्त्री ओली

11

काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गर्नुभएको छ ।

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोसिस भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताउनुभयो । यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उहाँको भनाइ थियो ।

‘गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो । प्रहार गरियो । भ्रष्टाचारमा उजुरी परेकामाथि २०औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो । यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौँ । बैंकको ऋण नतिर भन्दैनौँ । नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौँ । नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ ।’

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दुःख भोगेका छौँ त्यस्ता दुःख हाम्रा छोरानातिहरुले भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गर्नुभयो ।

नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्नुहुँदै उहाँले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गर्नुभयो । राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले नेवारी संस्कृति र परम्परताले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताउनुभयो । आफ्नो मर्यादित संस्कृति र परम्परालाई निरन्तरता दिएकामा धन्यवाद दिँनुहुँदै धार्मिक र सांस्कृतिक सम्पदालाई प्रोत्साहन गर्न सरकार तत्पर रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...