रोमानिया, युके र स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने ३ जना पक्राउ
काठमाडौँ, २६ मंसिर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका २५ घर भइ काठमाडौँ टोखा नगरपालिका ६ बस्ने ३० वर्षीया मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका १२ घर भइ काठमाडौँ महानगरपालिका २८ बस्ने ३२ वर्षीया गीता कुँवर र काठमाडौँ महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहा, सिरहा नगरपालिका ७ घर भइ काठमाडौँ महानगरपालिका २२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।
पक्राउ पर्नेमध्ये मधुले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ, गीताले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट १६ लाख ५ हजार रूपैयाँ र दिव्याले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख १५ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले मधुलाई काठमाडौँ टोखा नगरपालिका ६ बाट र गीतालाई काठमाडौँ महानगरपालिका २८ बाट मंगलबार तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको छ ।