संविधान विरोधीले टिप्पणी गर्ने बाटो नराखौँ : मुख्यमन्त्री कँडेल

11

सुर्खेत, २४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानले परिकल्पना गरेको संघीय ढाँचामा लैजान ढिलाई गर्दा संघीयताप्रति नै टीकाटिप्पणी गर्ने अवस्था आएको बताउनुभएको छ ।

आइतबारदेखि वीरेन्द्रनगरमा सुरु भएको कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै मुख्यमन्त्री कडेलले संविधान लागु भएको दश वर्ष पुग्न लाग्दा पनि संविधानले निर्देशित गरेका संरचनाले पूर्णता नपाउँदा संविधान विरोधीले टिप्पणी गर्ने बाटो खुलेको धारणासमेत राख्नुभयो ।

संविधानले परिकल्पना गरेका संरचनालाई अलमल नगरी कानुन निर्माण गरेमा शान्ति सुरक्षा र विकास निर्माणले थप गति लिने मुख्यमन्त्री कँडेलले बताउनुभयो । प्रदेशका सबै सुरक्षा निकायहरुसँग समन्वयात्मक ढंले काम भइरहेको भएपनि व्यवहारिकता मात्रले मात्र समन्वय गर्दा कार्यान्वयनमा जटिलता आउने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।

संविधानतः प्रदेशलाई प्राप्त शान्ति सुरक्षा कायम गर्न प्रहरी समायोजनको विषयलाई अन्यौलपूर्ण नराखी छिटो टुंगोमा पुर्‍याउन पनि मुख्यमन्त्री कँडेले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘गृहमन्त्रीज्यूलाई यो विषयमा राम्रोसँग जानकारी छ, जे गर्ने हो छिटो टुंगो लगाउनेतिर ध्यान दिनुहोला।’

गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित गोष्ठीमामा गृहमन्त्री रमेश लेखकले संघीयता अनुसारको कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारको निरन्तर अस्थिरताले मुलुकमा विकास, शान्ति सुरक्षा विकास र आर्थिक समृद्धिमा बाधक बनेकाले संविधानको रक्षा गरी मुलुकमा स्थिरता दिन दुई ठुला दल मिलेर सरकार सञ्चालन गरेको बताउँदै गृहमन्त्री लेखकले सेवा प्रवाह र सुशासनको विषयमा कुनै पनि सम्झौता नगेर काम गर्न निर्देशन दिनुभयो ।

गोष्ठीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र केन्द्र, प्रदेश तथा जिल्लास्थित राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको उपस्थिति रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...