झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स (दमक भ्यू टावर) विकासको नमूना भएको बताउनुभएको छ । उहाँले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने नमुनाका रुपमा भ्यू टावरलाई लिन सकिने बताउनुभयो ।
बाक्लो जनसहभागितामा एकसय मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कम्प्लेक्स निर्माणबाट रोजगारी र पर्यटन वृद्धि हुने बताउनुभयो ।
विश्वका ठुला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण प्रस्तुत गर्दै उहाँले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा पनि गर्नुभयो ।
उहाँले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोषण गर्दै देश चलाउने कुरा अरुलाई गाली गरे जस्तो र सहकारी ठगीजस्तो नहुने पनि बताउनुभयो ।
दमकको मुख्य बजार क्षेत्रबाट चार किमी दूरीमा पर्ने कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा निर्माण भएको हो ।
कुल चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।