काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने उहाँले स्पष्ट गर्नुभयो । आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उहाँले अब त्यो बेला आएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन विज्ञ मन्त्री बन्ने व्यवस्थामा गएर मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
यसका आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उहाँको जोड थियो । उहाँले अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको बताउनुभयो । यसपटक विरोधीहरुले माओवादी केन्द्रलाई जनतातर्फ फर्कने अवसर दिएको उल्लेख गर्दै उहाँले अब पार्टी जनतातर्फ फर्कन सुरु गरेको बताउनुभयो ।
यसले देशभर सकारात्मक प्रभाव परेको र केही जिल्लामा ६४ कै अवस्था फर्कने थालेको र त्यसको परिणाम उपनिर्वाचनले देखाएको उहाँले स्पष्ट गर्नुभयो। अझै मेहनत गरेर जाने हो भने देशैभरि यो अवस्था आउने उहाँले बताउनुभयो ।
प्रचण्डले विभाजनको श्रृंङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने बताउनुभयो । पार्टीको वैचारिक र नेतृत्वको केन्द्रीकरणले आगामी समाजवादी अभियान अघि बढाउन सम्भव हुने उल्लेख गर्दै उहाँले विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोड दिएर लैजानुपर्ने बताउनुभयो ।
जनयुद्धको तयारी, थालनी, सञ्चालन हुँदै पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले देशभर निरासा छाएको बेला २०७९ मा नौ वटा स्थानीय तह जितेर इतिहास बनाएको गोरखाले अहिले उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले भर्खरै सप्पन्न स्थानीय तहको उपनिर्वाचनमा गोरखा नगरपालिका ५ बाट निर्वाचित वडाध्यक्ष बिष्णु रानालाई सम्मान गर्नुभएको थियो ।