काठमाडौँ, १९ मंसिर । सभामुख देवराज घिमिरेले अपाङ्गताजस्तो संवेदनशील विषयलाई राष्ट्रले नै आत्मसाथ गर्न नसकेको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित अपाङ्गता भएका युवाहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संविधानले भेदभावरहित कानुन बनाउने कुराको ग्यारेन्टी गरेसँगै कानुनहरु निर्माण भएता पनि कार्यान्वयनमा भने फितलो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधानले भेदभावरहित कानुन बनाउने कुराको ग्यारेन्टी गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सम्मानको कुराहरु पनि गरेको छ । कानुन बन्न निर्देशित गर्छ र बनेका पनि छन् । तर, कानुनहरु कार्यान्वयन गर्ने सन्दर्भमा अझै पनि धेरै कमिहरु भइरहेका छन् । यो क्षेत्रको संवेदनशीलतालाई पहिलो कुरा परिवारले, समाजले र राष्ट्रले आत्मसाथ गर्न सकिरहेको छैन । जति आत्मसाथ गराउन सक्छौँ त्यति नै यो क्षेत्रको समावेशिता हुन सक्छ ।’
उहाँले नीति, सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने राज्यका विभिन्न अङ्गहरुले अपनाएर मात्रै समावेशिता सम्भव नरहेको धारणा राख्नुभयो । विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत वृद्धि गर्न सके मात्रै समावेशिताको बलियो आधार बन्न सक्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘समावेशिताको कुरा गरिरहँदा समावेशिता नीति र सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने तह र राजयका विभिन्न अङ्गहरुले यसलाई अपनाएर मात्रै सम्भव छैन । मेरो विचारमा समावेशिता सक्षम हुनुपर्छ । त्यसपछि मात्रै यी कुराहरु कार्यान्वयन गर्ने आधार बन्न सक्छ । समावेशिताका लागि विभिन्न क्षेत्रमा अपाङ्गता भएका समुदायमा आर्थिक हैसियत कसरी वृद्धि गर्ने त्यो सोच्नुपर्छ । यो समुदायलाई आर्थिक रुपमा चाहिने न्यूनतम आवश्यकता परिपूर्ति गरेपछि मात्रै समावेशिताको लागि बलियो आधार बन्न सक्छ ।’