नेपालमै विद्युत् खपत बढाउन ध्यान दिनुपर्छ : राज्यमन्त्री तामाङ

13

काठमाडौँ, १८ मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमा उत्पादित विद्युत् स्वदेशमै खपत बढाउन विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौँको कलापरिषद् फोटो पत्रकार क्लबद्वारा आयोजित ‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनीको उद्घाटन गर्दै राज्यमन्त्री तामाङले यस्तो धारणा राख्नुभएको हो ।

राज्यमन्त्री तामाङले नेपालले हालसम्म उत्पादित विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अब घरेलु खपत बढाउन नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब विद्युत् बेच्नेभन्दा पनि नेपालमै यसको खपत गर्न आवश्यक छ । विशेषगरी विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिएर ऊर्जा खपतको क्षेत्रमा सुधार ल्याउन सकिन्छ ।’

उहाँले काठमाडौँ उपत्यकामा झन्डै तीन हजार पेट्रोल इन्जिनयुक्त ट्याक्सी र पोखरामा करिब २२ सय ट्याक्सी सञ्चालनमा रहेको जनाउँदै विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘विद्युतीय ट्याक्सी सञ्चालनका लागि ऊर्जा मन्त्रालयले विदेशी दातृ निकायहरूसँग सहकार्य गरेर योजना अघि बढाउनुपर्छ,’ तामाङले भन्नुभयो ।

‘पावरिङ नेपालः ऊर्जा क्षेत्रमा एशियाली विकास बैंकको पाँच दशक’ विषयक फोटो प्रदर्शनी मंसिर १८ देखि २४ गतेसम्म सञ्चालन हुने छ । प्रदर्शनीले नेपालमा ऊर्जा क्षेत्रमा एसियाली विकास बैंकले गरेको पाँच दशकको योगदानलाई उजागर गर्ने आयोजकको विश्वास छ ।

Share This:
सम्बन्धित खबर
Loading...