पाँचवटा कार्यभार लिएर माओवादी केन्द्र अघि बढेको छ : नारायणकाजी श्रेष्ठ

58

सिरहा, १७ मंसिर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पाँचवटा कार्यभार आत्मसात गरेर पार्टी अघि बढेको बताउनुभएको छ ।

सिरहाको गोलबजार नगरपालिका नगर कमिटीको आयोजनामा वडा नम्बर ३ मुसहर्निया गाउँमा आयोजित तीन दिने अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रको सार्वभौम सत्ता, अखण्डता र स्वाधीनता जोगाउने पहिलो कार्यभार हो भने आन्दोलनको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनु दोस्रो कार्यभार हो । मुलुकलाई समृद्धि र समाजवादतर्फ लैजानु तेस्रो कार्यभार हो भने सुशासनको ग्यारेण्टी गरी सामाजिक न्यायको प्रत्याभूति गर्नु चौथो कार्यभार हो । हामी कम्युनिस्ट भएकाले मुलुकमा पूर्ण समाजवाद कायम गराउनु मूल अभिष्ट र मुख्य कार्यभार हो ।’

उद्घाटन सत्रमा प्रमुख अतिथिको हैसियतमा बोल्दै श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र आफू गृह तथा उपप्रधानमन्त्री हुँदा ठुला कर्मचारी, ठुला नेता र सरकारमा बसिसकेका मन्त्रीहरुलाई भ्रष्टाचार गरेकोमा कानुन बमोजिम कारबाही थालेको कारण सरकार ढालिएको जिकिर गर्नुभयो ।

श्रेष्ठले देशैभरि नेकपा माओवादीले पार्टी निर्माण गर्ने अभियान थालेको बताउनुभयो । त्यसैको एक कडीका रुपमा यो त्रिदिवसीय प्रशिक्षणलाई लिन सकिने उहाँको भनाइ छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का सचिव तथा मधेस प्रदेश इन्चार्ज लिलामणि पोखरेल, उपमहासचिव गिरिराजमणि पोखरेल स्थायी समिति सदस्यद्वय प्रशुराम तामाङ्ग र विश्वनाथ साह तथा वैकल्पिक केन्द्रीय सदस्य चन्देस्वर गडेरी पनि प्रशिक्षकका रुपमा सहभागी रहनुभएको छ ।

माओवादी केन्द्रका नगर समिति सदस्य धनप्रसाद लामाका अनुसार प्रशिक्षण शिविर तीन दिनसम्म सञ्चालन हुने छ । यस अवधिमा सिरहा जिल्लाका पार्टीका अगुवा कार्यकर्ताहरुलाई समसामयिक विषयमा प्रशिक्षित गराइने जनाइएको छ । आवासीय प्रशिक्षण शिविरमा झण्डै दुईसय नेता तथा कार्यकर्ता सहभागी भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...