काठमाडौँ, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ ।
चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उहाँ चीनको बेइजिङ जान लाग्नुभएको हो । उहाँले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो ।
भ्रमणका क्रममा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसका साथै, प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
यस्तै, उनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहनुभएको छ ।