काठमाडौँ, १० मंसिर । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बिआरआईमार्फत् अनुदानमा सहयोग लिइने बताउनुभएको छ ।
प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आउनुभएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बिआरआईमार्फत् ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोहर्याउनुभयो ।
‘बिआरआई परियोजनामा हामी प्रष्ट छौँ । ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भन्नुभयो,‘बिआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताउनुभयो ।
त्यस्तै, सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताउनुभयो । ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ देउवाले भन्नुभयो,‘मधेस प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’