प्रधानमन्त्री ओलीबाट पूर्वसभामुख ढुंगानालाई सम्मानसहित अन्तिम बिदाई

52

काठमाडौँ, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका दिवंगत पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थीव शरीरमा राष्ट्रिय झन्डा ओढाइ अन्तिम सम्मान गर्नुभएको छ ।

ढुङ्गानालाई श्रद्धाञ्जली दिन आज उहाँको पार्थीव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओलीले झन्डा र पुष्पगुच्छाबाट सम्मान गर्नुभएको हो ।

श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रीगण, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए ।

प्रधानमन्त्री ओलीले ढुङ्गाना नेपालको लोकतान्त्रिक प्रणालीमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ढुङ्गानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाउनुभयो । ढुङ्गानाले देखाउनुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध हुने प्रधानमन्त्रीले बताउनुभयो ।

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...