काठमाडौँ, ३ मंसिर । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ । स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर सम्भावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०/८१ मा ४४३ मेट्रिक टन कफी आयात भएको छ । आर्थिक वर्ष २०७१/७२ मा ६३.८ मेट्रिक टन कफी आयात भएको विभागको तथ्यांक छ ।
नेपालमा कफी संस्कृति बढेसँगै स्वदेशमा उत्पादितले नभ्याएपछि विदेशबाट आयात गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । पछिल्लो दशकमा कफी आयात करिब सात गुणाले बढेको छ ।
नेपालको कफी अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २१ सय रूपैयाँ (१६ डलर) मा बिक्री हुने भए पनि यसको खेती फस्टाउन सकेको छैन । नेपालको कफी युरोपेली देश, कोरिया, जापान, अमेरिकालगायत बजारमा बिक्री हुन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड ९८ लाख रूपैयाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात हुँदा १४ करोड ९२ लाख रूपैयाँबराबरको ८९ मेट्रिक टन कफी निर्यात भएको छ ।
नेपालमा अहिले ४३ सय ९ हेक्टरमा कफी खेती विस्तार भएको छ । कुल उत्पादनको करिब १७ प्रतिशत कफी विदेश निर्यात हुने गरेको छ । स्वदेशी बजारमा मागअनुसार स्वदेशी उत्पादन नै आपूर्ति गर्न नसक्दा ठुलो परिमाणमा कफी आयात गर्नुपरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले जानकारी दिनुभयो ।
बोर्डका अनुसार आव २०७८/७९ मा नेपालमा ३ हजार ३४६ हेक्टर जमिनमा कफीखेती भएकोमा आव २०८०/८१ मा यसको क्षेत्रफल बढेर ४ हजार ३०९ हेक्टर पुगेको छ ।