काठमाडौँ, १ मंसिर । सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि हरेक क्षेत्रले सक्रियता देखाउनुपर्ने औँल्याउनुभएको छ । सबै क्षेत्रले खेलका लागि सक्रियता जनाउन सके ठुलो उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
शनिबार ‘प्रथम झापा १– काठमाडौँ कप फुट्सल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिने भन्दै यसमा सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खेलको क्षेत्रमा नेपाल क्रमश अगाडि बढ्दै आएको छ । खेललाई राज्यले जति महत्त्व दिनुपर्ने थियो सायद त्यो महत्त्व पुगेको छैन । तर, राज्य भनेको हामी सबै मिलेर नै हुने हो । यस कार्यक्रमले पनि के देखाउँछ भने खेलकुदमा हरेक क्षेत्रबाट सक्रियता लिने हो भने यसको ठुलो सम्भावना छ । र यसले राष्ट्रमा आवश्यक पर्ने नीति र व्यवहारहरुलाई सुधार गर्दै खेल क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सक्छ । यसमा सबैले ध्यान दिनु आवश्यक छ ।’