एनपिएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर

16

काठमाडौँ, १ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत् आइकनिक खेलाडी छनोट गरेको छ ।

गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदीप अर्याल आइकनिक खेलाडी छनोट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनोट भएर एनपिएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनोट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपिएल खेल्ने अवसर पाएका हुन् ।

अर्यालसँगै स्याङ्जाका सन्दीप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दीप पराजुली गण्डकी हिरोजका रुपमा छनोट भएका छन् । ‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। । पोखरा एभेन्जर्सअन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरिनै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भन्नुभयो ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पुर्‍याउने बताउनुहुन्छ । ‘गण्डकी हिरोजका रुपमा छनोट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानीय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भन्नुभयो ।

आगामी मंसिर १५ गतेदेखि पुस ६ सम्म काठमाडौँमा आयोजना हुन गइरहेको एनपिएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् ।

टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै, चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...