काठमाडौँ, २९ कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौँ भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताउनुभएको छ ।
बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानुनहरु पुनः लेखन गर्नुपर्ने पनि बताउनुभयो ।
नेपालमा प्रत्येक छ–छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्त्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ । यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौँ भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ । यदी जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन । नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ । किनभने प्रत्येक ६–६ महिनामा सरकार फेरिरहेको छ । विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ । कानुनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानुन निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ ।’
कानुन निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उहाँको जोड थियो ।