पञ्चायतदेखि अहिलेसम्म नेपाल भूमिगत गिरोहबाट चलिरहेको छ : अर्थविद् डा.न्यौपाने

20

काठमाडौँ, १९ कात्तिक । अर्थविद् एवम् राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित साक्षात्कारलाई सम्बोधन गर्दै उहाँले पञ्चायतकाल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दा अर्थ–व्यवस्थाको चरित्र भने उस्तै रहेको बताउनुभयो । उहाँले नियन्त्रित अर्थतन्त्रले देशको विकास हुनै नसक्ने दाबी गर्नुभयो ।

‘हामीले राजनीतिक परिवर्तन चाहिँ गर्‍यौँ । तर, आर्थिक परिवर्तन गर्न सकेनौँ । मान्छेको जीवनमा हामीले परिवर्तन गर्न सकेनौँ । हामीले व्यवस्था चाहिँ त्यही राखिरह्यौं, अर्थतन्त्र चाहिँ हामीले त्यही नियन्त्रित अर्थतन्त्र राखिराख्यौँ,’ अर्थविद् डा.न्यौपानेले भन्नुभयो ।

साथै, वर्तमान अर्थव्यवस्थाको चरित्रले भ्रष्टाचार नियन्त्रण हुनै नसक्ने उहाँको दाबी छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपाल फ्रि एण्ड ओपन कम्पिटेटिभ मार्केट इकोनामीमा जानुपर्ने, करको दर घटाउनुपर्ने, सरकारको साइज र कर्मचारीतन्त्रलाई सानो बनाउनुपर्ने उहाँको सुझाव छ । राज्यले निर्माण गरेको पब्लिक पोलिसीको खराबीका कारण अहिले जनताले दुःख पाइरहेको उहाँको भनाइ छ ।

फरक प्रसंगमा अर्थविद् न्यौपानेले नेपाल पञ्चायत कालदेखि अहिलेसम्म भूमिगत गिरोहबाट सञ्चालित भइरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिले निर्वाचित जनप्रतिनिधिहरू बुख्याँचाजस्तै रहेको र देश ‘डिप–स्टेट’ बाट चलिरहेको बताउनुभयो ।

‘नेपाल ‘डिप स्टेट’ बाट चलेको देश हो । हिजो पञ्चायतकाल पनि डिप स्टेटले चलायो । बुहदलीय काल पनि डिप स्टेटले चलायो र आज पनि डिप स्टेटले सञ्चालन गरेको देश हो । निर्वाचित प्रतिनिधि त बुख्याचामात्रै हुन् । ती कानुनी प्रतिनिधिमात्रै हुन् । तिनले यो देश चलाएको छैन । म सूर्यबहादुर थापालाई सम्झन्छुु । सूर्यबहादुर थापाले एकचोटी भन्नुभएको थियो– भूमिगत गिरोह भनेर,’ अर्थविद् न्यौपानेले भन्नुभयो, ‘ठ्याक्कै त्यही शब्द गिरिजाप्रसाद कोइरालाले पनि प्रयोग गर्नुभएको छ । अहिलेका नेतासँग चाहिँ त्यो हिम्मत छैन, भन्दैनन् । त्यसैले नेपाल डिप स्टेटबाट गाइडेड भइरह्यो र हामीले त्यसलाई डिकन्स्ट्रक्सन गर्दैनौँ, जबसम्म त्यसको नेटवर्कलाई समाप्त गर्दैनौँ तबसम्म यो देशमा समस्या भइरहन्छ ।’

यस्तै ,काठमाडौँ, नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताउनुभयो । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताउनुभयो । २००७ सालदेखि नेपाल संसदीय व्यवस्थाको अभिश्रापबाट बाहिर निस्कन नसकेको उहाँको भनाइ छ ।

‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्था नफ्याँकेसम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुनेवाला छैन । किनभने आज भ्रष्टाचारको पैसाबाट जित्छन्, संसद्‌मा पुग्छन्, संसद्‌बाट अर्को भ्रष्टलाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकलबाट हामी निस्किन सकिरहेका छैनौँ । यसलाई खत्तम नपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुनसक्दैन,’ उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...