तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

21

काठमाडौँ, १६ कात्तिक । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्त्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तिको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ ।

हिन्दु दर्शनअनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ती सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

फूल र माला
तिहारका लागि अति आवश्यक सामाग्रीमध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्त्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यिनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तिको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहिर्‍याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ ।

रातो माटो
तिहारमा रातोमाटोको विशेष महत्त्व छ । लक्ष्मीपूजाका दिन रातो माटोको डोरो बनाई घरमा लक्ष्मी भित्र्याइन्छ । आँगन, तुलसाको मोठ अर्थात् घरको मुलढोका हुँदै भण्डारसम्म रातो माटोको डोरो बनाएर पोत्ने चलन छ । रातो माटोलाई पवित्र मानिने भएकाले भाइटीका वा गोबर्द्धन पूजा गर्ने बेलामा पनि रातो माटोको प्रयोग गर्ने गरिन्छ ।

सप्तरंगी वा अविर केसरी
बजारमा सप्तरंगी टिका देख्नासाथ तिहारको झल्को पाइन्छ । तिहारका हरेक दिन पूजा आराधना गर्दा अविर केसरीको आवश्यक्ता पर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाउने चलन छ । अष्टचिरिञ्जीवीको पूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ । लक्ष्मीपूजा गर्दा पनि अविर केसरी आवश्यक पर्छ ।

भाइ मसला
तिहारको पूर्वसन्ध्यामा बजारमा भाइ मसलाको बिक्री अत्याधिक बढ्छ । किनकी तिहारमा भाइ मसला नभइ नहुने सामाग्री हो । विभिन्न मसलाहरु राखेर प्याक गरिएको भाइ मसलामा नरिवल, काजु, किसमिस, सुकमेल, ल्वाङ, सुपाडी, छोकडा, दालचीनी लगायतका मिश्रीत सामाग्रीहरु हुन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि यस्ता सामाग्री दिने चलन छ । नेवारी समुदायमा म्ह पूजा गर्दा पनि भाइमसला दिने संस्कार छ ।

चामलको पिठो
तिहारमा सेलरोटी वा मिठाइका परिकार बनाउन चामलको पिठो अनिवार्य मानिन्छ । त्योभन्दा पनि लक्ष्मीपूजाका दिन चामलको पिठो आवश्यक पर्छ । घरको मूलढोकादेखि पूजा कोठासम्म चामलको पिठोबाट लक्ष्मीकोप्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ति बालेर लक्ष्मीको स्वागत गर्न पिठो आवश्यक पर्छ । गोबर्द्धन पूजामा पनि पिठोको प्रयोग हुन्छ ।

तेल र घिउ
तिहार पाँचै दिन आवश्यक पर्ने सामाग्रीमध्ये तेल र घिउको उत्तिनै महत्त्व छ । सेलरोटी साथै मिठाइहरु बनाउन तेलको प्रयोग गरिन्छ । दियो बाल्न र भाइटीकाको दिन दाजुभाइको कपालमा लगाउन पनि शुद्ध तोरीको तेल चाहिन्छ ।

मैनबत्ती र धुप
घरआँगनको उज्यालो बनाउन र मिठो सुगन्धका लागि तिहारमा मैनबत्ति र धुप आवश्यक पर्छ । तिहारका प्रत्येक साँझ र बिहान पूजा आराधना गर्दा मैनबत्ति र धुप बाल्ने गरिन्छ ।

कालो भटमास र मासको गेडा
प्रत्येक वर्ष नेपाल सम्वतअनुसार कात्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा म्हःपुजा गर्ने चलन छ । नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर गरिने यस पूजाका अवसरमा कालो भटमास र मासको गेडाको आवश्यक्ता पर्दछ । हाँस वा कुखुराको फूल सगुन चढाइ तान्त्रिक विधिबाट गरिने पूजामा अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धुलोको प्रयोग गरिन्छ ।

ओखर र विमिरो
तिहारको अन्तिम दिन अर्थात् भाइटीकामा अति आवश्यक पर्ने ओखर र विमिरोको विशेष महत्व छ । भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइको दुःख कष्ट फोडेर फालेको प्रतिकस्वरुप ओखर फुटाउने प्रचलन छ । ओखरले दाजुभाइको कालको बाटो छेक्ने विश्वास गरिन्छ । भाइटीकाकै अवसरमा दियो, कलश, गणेश साथै विमिराको पनि पूजा गर्ने चलन छ ।

दुबो र कटुस
तिहारका अन्य दिन दुबो र कटुसको खासै प्रयोग नआए पनि भाइटीकाका दिन अनिवार्य मानिन्छ । दियो, कलश र गणेशको पूजा गरी यमराजको आह्वान गर्दै दुबोको टीका वा माला र कटुसको प्रयोग गर्ने चलन छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो लगाइदिने प्रचलन छ ।

गाईको गोबर
तिहारमा घरआँगन पबित्र बनाउन गाईको गोबरले लिपपोत गर्ने प्रचलन छ । हिन्दु संस्कारअनुसार शरीर शुद्धिका लागि आवश्यक पञ्चगव्य गाईकै दुध, दही, घिउ, गहुँत र गोबर मिसाएर बनाइने भएकाले गोबर आवश्यक पर्छ ।

पाला तथा दियो
तिहारमा घर उज्यालो बनाउन पाला वा दियोको धेरै प्रयोग गरिन्छ । माटोबाट बनेको पालामा तेल राखेर कपासको बात्ति बाल्ने गरिन्छ । लक्ष्मी भित्र्याउन दियोको धेरै महत्त्व हुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...