रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो : महेश बर्तौला

6

काठमाडौँ, १२ कात्तिक । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुनेबित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैँमा पनि अपराध भएको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्यायमाथिको अवरोध मान्य हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा मुद्दामा धेरै प्रकारको प्रक्रिया हुन्छ, त्यसैले कसैलाई फसाउन, कसैलाई बदनाम गर्न सरकारले चाहेर हुँदैन । विधि र कानुनअनुसार हुन्छ । तर, अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदै छ, अदालतले फैसला गरे जसरी हुल, नाराबाजी, आन्दोलन गरेर फलानो व्यक्ति निर्दोष छ किन समाएको, किन राजनीतिक प्रतिशोध राखियो भन्नु जायज होइन । लोकतन्त्रमा विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैँमा पनि अपराध हो । न्यायमाथिको अवरोध मान्य हुन सक्दैन ।’

यस्तै, उहाँले सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानुन बमोजिम काम गर्ने भन्दै कसैको अनुहार हेरेर र कुन राजनीतिक पार्टीसँगको आबद्ध छ भनेर कानुनले काम नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारीको कुरा देशको आजको एउटा गम्भीर वहसको विषय हो । केन्द्रीय बहसको विषय पहिलैदेखि नै हो तर एकजना कोही आरोपित वा आशंकित व्यक्तिलाई समाउनेबित्तिकै यस्तो गतिविधि ठिक होइन । सरकार सुशासन प्रवर्द्धन गर्नका लागि कानुन बमोजिम काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीसँग को आबद्ध छ भनेर होइन । कानुनले कसलाई कसरी पछ्याउँछ, कानुनले के भन्छ । त्यसको आधारमा राज्यको अनुसन्धान गर्ने निकायहरुलाई सरकारले प्रभावित गर्दैन ।’

सांसद एवं पूर्वगृहमन्त्री जस्तो भइसकेको मान्छेले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...