किटान गरिएको १० लक्ष्यहरुमध्ये ८ वटा पूरा भए : मन्त्री दाहाल

0

काठमाडौँ, ८ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार गठनको सय दिनभित्र मन्त्रालय र अन्तर्गत निकायहरुबाट सम्पादन भएका मुख्य–मुख्य कार्य विवरणहरु सार्वजनिक गर्नुभएको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले उक्त उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो ।

सोही क्रममा उनले मन्त्रालयले आफू र मातहतका सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र नेपाल पानी जहाज कार्यालयमार्फत् सम्पादन भएका मुख्य कार्यहरु र हासिल भएका उपलब्धिहरुका साथै यस मन्त्रालयको कार्यक्षेत्रमा पर्ने र यस अवधिमा सम्पादन गरिएका अन्य कार्य र तिनबाट हासिल भएका उपलब्धिहरु सर्वसाधारणको जानकारीको लागि सार्वजनिक गरेको बताउनुभयो ।

उनले एक सय दिनका लागि किटान गरिएको १० लक्ष्यहरूमध्ये ८ वटा लक्ष्य पूरा भएको, एउटा लक्ष करिब पूरा भएको र बाँकी एउटा लक्ष्यको भने आधा मात्र प्रगति हासिल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एक सय दिनका लागि निर्धारित १० कामका क्षेत्रमा किटान गरिएको लक्ष्यहरूमध्ये ८ वटा लक्ष्य पूरा गरिएका छन् भने एउटा लक्ष्य करिब पूरा भएको अवस्था छ । बाँकी एउटा लक्ष्यको भने आधा मात्र प्रगति हासिल भएको अवस्था छ । यसबीचमा वर्षात् र बाढीको प्रकोपद्वारा सिर्जित आपतकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नु नपरेको भए हामीले सम्पूर्ण लक्ष्य पूरा गर्ने देखिएको छ । अपेक्षाको दाँजोमा प्रगतिको यो अवस्था कमै भए पनि किटान गरिएको लक्ष्यका दृष्टिले यसलाई कम भन्न पनि मिल्दैन भन्ने ठानेको छु । यो उपलब्धि मन्त्रालय, विभाग र फिल्डमा मेहनतपूर्वक खट्ने सबै तहका कर्मचारी साथहरीहरुका साथै सबै सरोकारवालाहरु र मिडियासमेतको सहयोगमा सम्भव भएको उल्लेख गर्न चाहन्छु ।’

यस अवधिमा मन्त्रालयले विगतदेखि विरासतको रुपमा रहेको कतिपय आयोजना व्यवस्थापनका समस्या र श्रोत साधनको सीमितताका बाबजूद जनचासो र अपेक्षाहरुलाई सम्बोधन गर्न आवश्यक सबै प्रयत्न गरिएको पनि उहाँको भनाइ छ ।

यस्तै, उहाँले आगामी दिनमा आयोजना व्यवस्थापनका समस्या समाधान गरी जनअपेक्षा पूरा गर्न यस कार्यमा अझै प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...