माओवादी पार्टीहरुको एकता चाँडै टुंगोमा पुग्छ : प्रचण्ड

1

चितवन, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्‍याउने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)ले चितवनको भरतपुर–१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

आफूहरु शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब त्यो बिन्दु आएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताउनुभयो । उहाँले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरु बनाएर अघि बढ्ने बताउनुभयो ।

उहाँले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताउनुभयो ।

उनीजस्तै हजारौँ योद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन ऊर्जा प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उनीहरुप्रतिको साचो श्रद्धाञ्जली हुने बताउनुभयो ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताउनुभयो । जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरुको एकता आवश्यक रहेको बताउनुभयो ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौँ योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनाजीविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले माओवादी आन्दोलनलाई एकताबद्व गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सामना सांस्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...