असमानता, विभेद र उत्पीडन हटाउन अझै धेरै काम गर्न बाँकी छ : मन्त्री गुरुङ

13

काठमाडौँ, ३० असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले समान अधिकार दिन नसकेको कारण अझै असमानता रहेको बताउनुभएको छ ।

बुधबार ‘दनुवार’ भाषामा समाचार तथा कार्यक्रम प्रसारण शुभारम्भ समारोहमा उहाँले समाजमा रहेको असमानता, विभेद, उत्पीडन हटाउनको लागि संघीय शासन प्रणालीको आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि सबै कुरा हेर्दा विविधता भित्र असमानता, विभेद, उत्पीडनका विषयमा झगडा हुन्छ । राज्यले समान अधिकार दिन नसकेको हुनाले यस्तो भएको हो । यसको व्यवस्थापन गर्नका लागि संघीय शासन प्रणालीको आवश्यकता हुन्छ । यसका लागि विविधताभित्र एकता खोज्नुपर्छ । नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नका लागि सबैलाई थोरै थोरै र बराबर अधिकार दिएर अगाडि बढ्नुपर्छ ।’

आफ्नो प्रतिनिधिमाथि जनताको राम्रो नियन्त्रण कायम होस् र लोकतन्त्र राम्रो होस् भनेर संघीय प्रणालीमा आएको पनि उहाँको भनाइ छ ।

यस्तै, उहाँले समयअनुसार नढल्ने हो भने विकास सम्भव नहुने भन्दै रेडियो नेपाललाई वर्तमान समाजमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सरकार र नीति नियमको स्थिरताका लागि र जनताको समस्या समाधान गर्नका लागि यो सरकार बनेको भन्दै सरकारले आफ्नो काम गर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...