केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने प्रचण्डको दाबी [भिडिओ]

38

काठमाडौँ, ३० असोज । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताउनुभएको छ ।

बुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गर्नुभयो ।

‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आंकलन पनि त्यही छ,’ उहाँले भन्नुभयो ।

तर, माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पार्नुभयो । संगठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उहाँको भनाइ छ । ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, संगठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ । मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैँ ढल्छ भने लाग्छ । हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गर्दै आउनुभएका दाहालले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आउनुभएको छ । उहाँले विपक्षी दलहरुको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिँदै आउनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...