डेंगु सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौ जनाको मृत्यु

8

काठमाडौँ, ३० असोज । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्कअनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ ।

डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार १०३ जना प्रभावित बनेका छन् ।

यस्तै, कास्कीमा दुई हजार ८४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने तनहुँमा दुई हजार १०७, पर्वतमा एक हजार ५६२, चितवनमा ९७१, ललितपुरमा ८२७, गोरखामा ५८८, बाग्लुङमा ६१०, भक्तपुरमा ३५५ तथा स्याङ्जामा ३३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।

विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्न चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...