विश्वभर दसैँको विधि एउटै हो तर तिथि फरक पर्छ : धर्मशास्त्रविद् प्राडा.भट्टराई [भिडिओ]

6

काठमाडौँ, २१ असोज । प्राध्यापक डा.देवमणि भट्टराई नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ । उहाँ वाल्मिकी क्याम्पसमा धर्मशास्त्र विभागमा कार्यरत हुनुहुन्छ । त्यसका अलावा उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य समेत हुनुहुन्छ । हिन्दुहरुको महान पर्व वडादसैँका सन्दर्भमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।

चैते दसैँ र वडा दसैँमा के भिन्नता छ ?
खासमा दसैँ चार वटा हुन्छन् । एउटा आश्विनमा मनाइने बडादसैँ, त्यसैगरी चैते दसैँ, अर्को माघ शुक्लदेखि दशमीसम्म र अर्को आषाढ शुक्लदेखि दशमीसम्म गरेर चारवटा दसैँ हुन्छन् । यी चारवटा दसैँको महत्व उत्तिकै छ । विशेष गरेर नेपालको सन्दर्भमा विजयको सुरुवातको रुपमा असोजको दसैँलाई मुख्य रुपमा लिने प्रचलन छ । यसमा भागवान राम पनि विजयको लागि यही समयमा हिँड्नुभएकाले पौराणिक कथाहरु पनि यसमा जोडिएको छ । अन्य देवी देवताका धार्मिक पक्षहरु पनि यसमा जोडिएकाले वर्षका चारवटा दसैँमध्ये असोजको दसैँलाई बडादसैँ मानिएको हो ।

बडादसैँलाई विजयको प्रतिक पनि मानिन्छ, त्यसो किन भनिएको हो ?
पौराणिक कथाहरु अनुसार राम कुनै समय वनबास जानुभएको थियो । विजया दशमीका दिनमा नै उहाँ प्रस्थान गर्नुभएको थियो । यसलाई एउटा विजयीको प्रतिक मानियो । अर्को कुरा, देवीको आरधना गर्न वातावरणदेखि प्रकृतिका दृष्टिले पनि यतिबेलाको मौसम अनुकुल भएकाले यसको पृथक महत्व छ । यद्यपि, यस वर्षको अवस्था प्रतिकूल भयो । मौसमले गर्दा प्राकृतिक अवस्था राम्रो भएन । तर, सामान्यतया यतिबेला घामपानी जस्ता सबै कुराले उचित समय हो । वैज्ञानिक र प्राकृतिक हिसाबले पनि दसैँको विशेष महत्त्व छ ।

दसैँ भनेपछि दश दिनसम्म पूजापाठ गर्ने गरिन्छ । दश दिनसम्म के के हुन्छ ?
दसैँका दश दिनको भिन्नाभिनै महत्त्व छ । प्रत्येक दिनको पौराणिक र धार्मिक विविध कारणहरु छन । तर नवरात्रको विशेष महत्व छ । नौ दिनसम्म उपवास गर्ने, पहिलो दिन जमरा राख्ने अनि नौ दिनसम्म क्रमशः यसको पूजा गर्ने प्रचलन छ । प्रत्येक दिनका पूजा र विधिहरु फरक छन् । घटस्थापनाको दिनमा शुभ साइतमा जमरा राख्छौँ । त्यसलाई दशमीको दिनमा विसर्जन गर्छौँ । दश दिनभित्र विशेष कार्य गर्नुपर्ने भएकाले सबै दिन विशेष महत्वका छन् ।

विश्वभर हिन्दुहरुको संख्या फैलिएकोछ । दसैँ मान्ने परम्परा वा तरिका ठाँउ अनुसार फरक हुन्छ कि एउटै हो ?
देश अनुसार तिथिको कुरा फरक होला तर विधि उस्तै हो । जस्तै घटस्थापनाको लागि अश्विन शुक्ल प्रतिपदा चाहियो, त्यो कहिले पर्छ तिथि हेरिन्छ । अष्टे«लियामा यसपाली दसैँको साइत यहाँ भएको दिनको भोलिपल्ट छ । किनभने दशमी तिथिको प्रवेश भोलिपल्ट मात्र भयो । तिथिलाई एकदमै विशिष्ट मानिएको हुन्छ । बार, गते होइन तिथिलाई विशेष मानिएको हुन्छ ।

नेपालको सन्दर्भमा हिन्दुहरुभित्रै पनि विभिन्न जातजातिहरु छन् । उनीहरुले दसैँलाई फरक फरक तरिकाले मनाउने गर्छन् । कसैले सेतो टीका, कसैले रातो टीका लगाउँछन् । यस्तो भिन्नता किन ?
टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नुभएको छैन ।

अर्कोतिर रातो भनेको विजयको प्रतिक भएको हुनाले रातो टीका लगाइन्छ । दसैँ भनेको व्यक्ति, गाँउ, घर वा समाजको नभइ राष्ट्रको हो । त्यसकारण राष्ट्रले विजय प्राप्त गरेको दिनलाई पनि जोडिन्छ । हामीले त्यही भएर रातो लगाउँछौँ तर सेतो टीका लगाउनु पनि अनुचित होइन । दसैँबाट एक खालको ऊर्जा प्राप्त गर्ने हो । वर्ष दिनसम्म पैसा जोगाएर, खेतीपातीबाट विश्राम लिएर मनाउने हो । दसैँमा नौ दिनमा उर्जा प्राप्त गरेर बलशाली भएर अगाडि बढ्ने हो ।

नेपाल र भारतमा बस्ने हिन्दुहरु एउटै हुन् । तर उनीहरुले मनाउने र नेपालमा मनाइने दसैँमा केही फरक छ ? भारतमा किन दशहरा पूजा गरिएको ?
हामीले एउटा के गौरव गर्नुपर्छ भने अहिलेसम्म कसैको पराधिन भएनौँ । हाम्रा धर्म, संस्कार, संस्कृतिहरु जे पूर्वदेखि आएका परम्परालाई डोहोर्‍याइरहेका छौँ । यो अहिलेसम्म पनि जीवन्त छ । जस्तो सगरमाथाको उचाइ छ त्यसैगरी धर्म परम्परा पनि जीवित नै छन् । यसकारण मानिसहरु यहाँ रिचार्ज हुन आउने गर्छन् । नेपालमा त्यस्तो शान्त र नयाँ ऊर्जा दिने ठाउँहरु छन् ।

भारतमा रहेको परम्परा अंग्रेजको शासनभन्दा पहिला जस्तो रहन सकेको छैन । तर, नेपालमा अझै परम्परा कायम छ र यसकारण नेपालमा विजया दशमीका दिन टीका लगाउने जस्तो परम्परा कतै छैन । यसलाई बचाएर राख्नु हामी सबैको कर्तव्य हो ।

हाम्रोमा विभिन्न खालको रथ यात्राहरु हुन्छन्, कुमारी पूजा हुन्छ । यस्तो खालको विशिष्ट परम्परा देशमा अझै जीवन्त छ । अन्य देशमा यो लुप्त हुँदै गएको छ । राजसिंहासन नै छाडेर कुमारीको पूजा गर्ने चलन छ । विश्वमा सनातन धर्मको मर्म लुप्त हुँदै गएका छन् । त्यसकारण भएको संस्कृतिलाई जीवन्त राख्नुपर्छ । जीवन्त राख्न सक्यौँ भने पक्कै पनि उचाइ प्राप्त गर्न सक्छौँ र यसको अनुशरण सबैले गर्न सक्छन् । दसैँ सबैको हो, यो पर्व समावेशी छ ।

हुनतः विश्वभर सनातन हिन्दुहरुले दसैँको पूजा गर्ने प्रचलन उस्तै हो । नवदुर्गाको स्थापना, जमरा राख्ने कुरामा कुनै कमी छैन । पहिलो दिन, दोस्रो, तेस्रो, चौथो, पाँचौँ दिन गर्ने पूजाहरुको कुराहरु उस्तै हुन् । छैठौँ दिन बेललाई निमन्त्रणा गर्नुपर्छ । सातौँ दिन फूलपाती भित्राउने कुराहरु सबैतिर होलान् तर हाम्रोमा शासन व्यवस्थाले केही परिवर्तन भयो होला तर विधि उस्तै हो । गोरखा दरबारको पूजा, हनुमान ढोकाको पूजा लगायत अन्य पूजा गर्ने परम्परा अन्यत्र कतै छैन ।

भारत र बेलायतमा गोर्खा सैनिक व्यारेकभित्र दसैँ मनाउने चलन छ । यसबारे हजुरलाई केही जानकारी छ ?
जहाँ जहाँ नेपाली पुगेका हुन्छन् त्यहाँ दसैँ मनाउने चलन छ । विदेशमा रोजगारीका लागि होस या व्यापार गरेर बसेकाहरु छन् उनीहरु दसैँ मान्छन् । उनीहरु सबैले परम्परा अंगालेका छन् । भारतले पनि गोर्खाली सेनाहरुले जे काम गर्छन् त्यसलाई सम्मानका साथ लाग्ने खर्च सरकारले दिएर राखेको छ । यसरी नै बेलायतमा पनि नेपालीहरु पुगेको हुनाले हाम्रो परम्पराको र धर्म संस्कृतिलाई ती देशहरुले सम्मान गरेका छन् । आफ्नो परम्परा नछोड्ने मानिसलाई जहाँ पनि मानिदो रहेछ भन्ने पनि यसले सन्देश दिन्छ ।

हिन्दु धर्म शास्त्रभित्र बलि प्रथालाई कुन रुपमा व्याख्या गरिएको छ ?
धर्मशास्त्रले के भन्छ भने यदी तिमी मासु खादैनौँ भने बलि नदेउ । बाहुनहरुले बलि दिने विधा नै छैन । तथापि बलि परम्परादेखि नै चलि आएको छ । यज्ञका लागि पशुहरुको दृष्टि गरिएको हो । वास्तवमा काम, लोभ, मोहको बलि दिनु पर्ने हो तर त्यो कुरालाई त्याग्नका लागि प्रतिकको रुपमा पशु बलि दिने चलन छ । नेपालको परम्परामा यो कुराहरु दसैँबाट भिन्न गर्न सक्दैनौँ । यो चलिरहेको परम्परा हो । नखानेले नदिने ठिक छ, यसको विशिष्ट परम्परा रहेको हुनाले यसलाई छोड्नभन्दा कसरी गर्ने त्यसबारे सोच्नुपर्छ । व्यवस्थित गर्न सक्नुपर्छ ।

नेपालमा विभिन्न धर्म मान्ने समुदायहरु छन् । बौद्ध धर्मावलम्वीहरुले पनि दसैँ मान्छन् । हिन्दु र वुद्धिष्टहरुको दसैँमा के भिन्नता छ ?
त्यस्तो धेरै भिन्नता छैन । उनीहरु पनि साइतमै सबै कर्म गर्छन् । जति पनि मानिसले दसैँ मनाउनुहुन्छ, मनाउनेहरुले त्यो दसैँको साइत नै पर्खिनु हुन्छ । यो सबैले त्यही अनुसार मनाउने गर्छन् भनेपछि यो त राष्ट्रव्यापी पर्व हो ।

दसैँका प्रत्येक दिनको पृथक महत्त्व छ । तर, घटस्थापना र फूलपातीको किन बढी चर्चा हुन्छ ?
घटस्थापना भनेको के हो भने दियो, कलश, गणेशको पूजा गरेर घडामाथि एउटा थाली राखेर देवीको यन्त्र लेखेर त्यसमा देवीलाई स्थापना गर्ने हो । घटस्थापना भनेको घडाको र देवीको स्थापना हो । यो क्रम पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैठौँ दिनसम्म यस्तै विधिअनुसार कर्म गरिन्छ । छैठौँ दिनमा विशेष के हुन्छ भने त्यो दिन भगवती दुर्गाको पूजाको लागि आवश्यक पर्ने सामग्रीमा बेलपत्रहरु राखिन्छ । त्यसका निमन्त्रण छैठौँ दिनमा गरिन्छ । बेलपत्रको रुखमा गएर निमन्त्रणा गर्नुपर्छ । फूलपातीका दिन त्यहाँबाट त्यो बेलका पातहरु टिपेर, फलहरु टिपेर ल्याएर पूजा कोठामा राख्छौ । फूलपातीको दिन पूजा गरेर घर घुमेर सम्भव भएसम्म भित्राउने हो ।

किनभने त्यो पत्रहरुमा पनि देवीहरुको बास हुन्छ । नौ खालका फूलहरु र बेलका फलहरु ल्याउनुपर्छ । भोलिपल्ट अष्टमीका दिन पहिलादेखि दुर्गासँगै नौ वटी देवीको पूजा गर्छौँ । केराको पात चामलको थुप्रो लगाउने पूजा गर्ने अनि त्यहाँ चढाइएको प्रसाद टीका लगाउँदा प्रयोग गर्छौँ । नवमीको दिन पहिला थापेको देवी र नौ वटा कन्यालाई पूजा गर्ने र खुवाउने गरिन्छ । त्यसपछि मान्यजनको हातबाट टीका लगाउँछौँ ।

पितृहरुको सम्मान गरिसकेपछि जीवितहरुको सम्मान दसैँमा गर्ने हो । अरुबेला गरेपनि दसैँमा विशेष रुपमा सम्मान गर्ने चलन छ । उहाँहरुको आशिर्वाद लिने चलन छ ।

Share This:
सम्बन्धित खबर
Loading...