विद्यालयमा शौचालयको अभाव हुँदा विद्यार्थी धाउँछन् जंगल र खेतबारी

17
  • दान बहादुर बुढा

मुगु, २० असोज । तामझामका साथ खुला दिशामुक्त जिल्ला घोषणा गरिएको मुगुका विद्यालयका विद्यार्थीहरु शौच गर्न जंगल र झाडीतिर जान बाध्य छन् ।

२०७५ जेष्ठ २८ मा साविकका २४ गाउँ विकास समितिमा तामझामसहित राज्यकोषबाट ठुलो लगानी खर्च गरेर खुला दिशामुक्त जिल्ला घोषणा गरिए पनि विद्यालयमा शौचालय र पानीको अभावमा विद्यार्थीहरु जंगलतिर धाउन बाध्य बनेका हुन् ।

पश्चिम भेगमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर ३ ठुलागाँउमा रहेको गुरु माध्यमिक विद्यालयमा अध्यानरत ११९ छात्र, १६२ छात्रागरी जम्मा २८३ जना विद्यार्थीहरु विद्यालयमा खानेपानी वा हात धुने पानीको व्यवस्था नहुँदा अन्यन्त्र जान बाध्य बनेका हुन् ।

विद्यालयमा रहेका दुई वटा शौचालय र एक वटा यूरिनलमा दिशा र पिसावले भरिएकाका कारण विद्यार्थीहरु दिशा र पिसाब गर्न बन जंगल, खेतबारीमा जान बाध्य भएका हुन् । घरनजिक भएका विद्यार्थीहरु आफ्नै घरमा जाने गरे पनि टाढा भएकाहरु बन जंगल र खेतबारीमा जाने गरेको स्थानीयहरु बताउने गर्छन् ।

विद्यालयमा निर्माण गरिएका शौचालय दिशा र पिसावले भरीभराउ र फोहोर छन् तर व्यवस्थापन समिति साथै स्थानीय सरकारले त्यसमा चासो नदिएका कारण विद्यार्थी र शिक्षकहरुलाई नै समस्या भएको कक्षा ८ मा अध्ययनरत छात्रा निरुता थामीले बताउनुभयो ।

विद्यालयमा रहेका शौचालयहरु पहिला दुईतीन पटक निर्माण तथा मर्मत गरिएको तर पानी प्रयोग गर्ने तरिका नसिकाएको, शौचालय र धारा बिग्रेको हुनाले शौचालय प्रयोग गर्नमा समस्या आएको अभिभावक जगत बहादुर सेजुवालले बताउनुभयो ।

विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको भएपनि विशेषगरी पानीको समस्या भएका कारण विद्यार्थीको पढाइमै बाधा पर्ने गरेकाले सम्बन्धित निकायहरुले सहयोग गरिदिन शिक्षक युवराज बलले आग्रह गर्नुभयो । समस्या समाधानका लागि पालिकाले ६८ लाखको शौचालयसहित विद्यालय भवनका लागि बजेट विनियोजन गरी पालिका लागिपरेको पालिका उपाध्यक्ष केशर बहादुर शाहीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...