अब हुने सबै चुनावमा माओवादीले एक्लै प्रतिस्पर्धा गर्छ : प्रचण्ड

2

काठमाडौँ, १९ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तक्रियालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो उदघोष गर्नुभएको हो ।

उहाँले विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उल्लेख गर्दै अब देशव्यापीरुपमा एकल प्रतिस्पर्धामा जानेगरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताउनुभयो ।

यस्तै, उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र आकर्षण पैदा भएको भन्दै आगामी निर्वाचनमा एक्लै विजय प्राप्त गर्ने तयारी थाल्ने बताउनुभयो ।

पछिल्लो समय टानलगायतका कतिपय संस्थामा कांग्रेस–एमाले मिल्दा पनि माओवादी एक्लैले चुनाव जितेको भन्दै अहिले देशव्यापी रुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण साथै जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने पनि उहाँको भनाइ छ ।

उहाँले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जना भएको संकट समाधानका लागि आफ्नो पार्टीले महत्त्वपूर्ण पहलकदमी लिएको जानकारी दिनुहुँदै जनताको सेवा गर्ने अधिकारलाई कसैले खोस्न नसक्ने बताउनुभयो ।

उहाँले सबैतिरका समस्या केन्द्रित गरेर चाँडै सरकारलाई ज्ञापनपत्र बुझाउने र त्यसलाई जनताको बीचमा पनि यथार्थ जानकारी दिने उल्लेख गर्दै यो वर्ष दसैँ तिहारमा शुभकामना आदानप्रदानभन्दा संकटमा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा, समाजवाद निर्माणको पक्षमा पार्टीले नयाँ संकल्प गर्नुपर्ने बेला आएको भन्दै जनताका अधिकार सुदृढ गर्न नयाँ आन्दोलनको आवश्यकता रहेको र त्यसको वैचारिक, सांगठनिक र सांस्कृतिक नेतृत्व आफ्नो पार्टीले गर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...