व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

8

काठमाडौँ, १९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नु पर्ने आवश्यक्ता औँल्याउनुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको संख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नु पर्ने कुनै कारण नै नभएको टिप्पणी गर्नुभयो ।

उहाँले अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जाँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिइन्थ्यो ।’

ललितपुरको नख्खुमा नागरिकले घन्टौँदेखि ज्यान बचाउनका लागि याचना गर्दा पनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उहाँले सरकारको असफलतासँग जोड्नुभयो ।

उहाँले भन्नुभयो, ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन । जनताले घन्टौँ चिच्याउँदा पनि उद्धार भएन । यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौँ त ? ज्यान बचाउनका लागि याचना गर्दा पनि सरकार देखिएन । कर के को लागि तिरेका छौँ ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ? म भन्छु अहिलेको राज्य संयन्त्र फेल भैसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन । त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

उहाँले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराउनुभयो । तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

उहाँले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...