मन्त्रीसमक्ष पाटन अस्पतालका चिकित्सकहरुको माग- ‘नयाँ भवन चाहियो’

10

काठमाडौँ, १८ असोज । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुनेगरी सेवा प्रदान गर्न आग्रह गर्नुभएको छ ।

अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुग्नुभएका मन्त्री पौडेलले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईंहरुको सेवा तुलनात्मक रुपमा राम्रो छ, तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ ।’

मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गर्नुभयो । ‘तपाईंहरुले अनलाइनमार्फत् सेवा थाल्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘तर यो धेरै नागरिकले थाहा पाउने गरी हुनुपर्‍यो । र, अझ सहज हुने गरी हुनुपर्‍यो ।’

मन्त्री पौडेलले अस्पताललाई अब विशिष्टिकृत बिरामीहरुको पनि उपचार हुने गरी सेवा विस्तार गर्न सुझाव दिनुभयो ।

अस्पताल अवलोकनका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति डा.राजेश डंगोलले आफ्नै स्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गरिएको भन्दै अस्पतालको नयाँ भवनका लागि स्रोत खोजिदिन आग्रह गर्नुभएको थियो ।

मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसवर्षको बजेट आइसकेकाले स्रोत नभए पनि अरु विकल्प वा वैदेशिक सहायताका लागि भए पनि भवनको स्रोत जुटाउन मेरो पहल हुनेछ ।’

मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिँदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिनुभयो ।

प्रतिष्ठानका रजिष्ट्रार डा.पारसकुमार आचार्यले दैनिक १५ सय हाराहारीमा ओपिडी बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...